Sajhamanch Archive

नेपालमा कोरोना सङ्क्रमणको अर्को लहर आउने सङ्केत

Published: in मुख्य समाचार, स्वास्थ्य by .

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना सङ्क्रमितमा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ देखिएको छ । जिन सिक्वेन्सिङ गर्दा धुलिखेल अस्पतालमा ओमक्रोनको उपप्रजाति पुष्टि भएको हो । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने औपचारिक रूपमा पुष्टि गरेको छैन ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार दक्षिण अफ्रिकामा बीए फोरद्वारा सङ्क्रमितको सङ्ख्या जनवरी २०२२ देखि अप्रिल २९, २०२२ सम्म १ बाट ३५ प्रतिशत वृद्धि भएको थियो । बीए फाइभ सङ्क्रमितको सङ्ख्या अप्रिल अन्तिमसम्म २० प्रतिशतले वृद्धि भएको छ । यस्तै, पछिल्लोको तथ्याङ्क अनुसार दक्षिण अफ्रिकामा बीए फोर र बीए फाइभ भेरियन्ट सबैभन्दा बढी फैलिएको पाइएको छ । बीए फोर ६९ प्रतिशत र बीए टु ४५ प्रतिशसम्म फैलिएको थियो । सङ्क्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले बीए फाइभ भेरियन्ट सङ्क्रामक रहेको बताउँछन् ।

यस्तै, सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि छिटो फैलन सक्ने क्षमता भएको पाइएको बताउँछन् । अघिल्ला महामारीमा देखिएमा डेल्टा भेरियन्टभन्दा घातक भन्ने कुरा सिद्ध भइनसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘यो भाइरस विश्वमा जुन देशमा देखिए पनि नेपालसम्म आइपुग्न बेर लाग्दैन । ढिलो चाँडो आइपुग्छ । यो कुरालाई आश्चर्य मान्नुपर्ने कुरा छैन । कतै नयाँ प्रजातिका भाइरस सङ्क्रमणले गर्दा हाल सङ्क्रमितको सङ्ख्या बढेको त होइन भन्ने प्रश्न पनि खडा हुन सक्छ ।’

हालसम्म बीए फोर र बीए फाइभ नयाँ लक्षण वा गम्भीर रोगसँग सम्बन्धित छ भन्ने कुराको खासै प्रमाण नभेटिएका अध्ययनहरूले देखाएको छ । सङ्क्रामक रोग विशेषज्ञ प्रभात अधिकारी हरेक पटक कोभिड–१९ को लहर आउँदा नयाँ भरियन्टको सब भेरियन्ट देखा पर्ने गरेको सङ्क्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । ‘उत्परिवर्तन भएका भेरियन्टहरु हालसम्म सङ्क्रामक देखिँदै आएको छ,’ उनी भन्छन्, ‘उपप्रजाति ‘बी फाइभ’ यसअघि देखिएका भेरियन्टभन्दा सङ्क्रामक देखिएको छ ।’

उपप्रजाति ‘बी फाइभ’ भेरियन्ट अघिल्ला सब भेरियन्टभन्दा घातक भने नहुने डा. पुनको तर्क छ । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । त्यहाँ यसभन्दा अघि नै ‘बी फाइभ’ भेरियन्ट पुष्टि भइसकेको थियो । खोप लगाएर जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरेको खण्डमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।

सङ्क्रामक रोग विशेषज्ञहरूका अनुसार खोप र सङ्क्रमणबाट प्राप्त प्रतिरोधी क्षमतामा कम आइ सङ्क्रमण फैलिएको हुनसक्ने अनुमान गर्छन् । यद्यपि यसबारे तत्काल भनिहाल्ने अवस्था नरहेको उनीहरू बताउँछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भने ओमिक्रोन भेरियन्टको पुरानै उपप्रजाति देखिएको निर्देशक डा. रुना झाले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *