झापा एफसीद्वारा आफ्ना खेलाडीलाई नगदसहित सम्मान
Published: (Updated: )
by .बिर्तामोड । झापा फुटबल क्लब (झापा एफसी) बिर्ताबजारले सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको आफ्नो क्लबका खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ । आज आइतबार बिर्तामोडको चारपानेमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई झापा फुटबल क्लबले पुरस्कृत तथा सम्मान गरेको हो ।
कार्यक्रममा एनी स्पोटर्सका सञ्चालक सन्तोष थोप्रालाई समेत सम्मान गरिएको थियो । खेलकुद क्षेत्रको प्रबर्द्धनमा योगदान गरेबापत उनलाई सम्मान गरिएको थियो ।
जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको क्लबका खेलाडी तथा अफिसियललाई पुरस्कारस्वरुप जनही ११ हजार ५०० रुपैयाँ प्रदान गरिएको थियो ।
खेलाडीलाई प्रोत्साहन गर्न क्लबले पुरस्कृत गर्ने निर्णय गरेको क्लबका अध्यक्ष जलकुमार गुरुङले बताए । क्लबका खेलाडी तथा अफिसियल ३० जनालाई जनही ११ हजार ५०० रुपैयाँ प्रदान गरिएको हो ।
स्वयम्भु फुटबल क्लबलाई लिगको अन्तिम खेलमा ४–२ ले पराजित गर्दै झापाले ‘बी’ डिभिजन लिगमा आफ्नो स्थान पक्का गरेको थियो । लिग विजेता झापाले १३ खेलको समाप्तिमा ३४ अंक जोडेको थियो ।
झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको सम्मान कार्यक्रम बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रसाईं, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, पूर्वजनप्रतिनिधि तथा सामाजिक अगुवा लोकबन्धु कन्दङवालगायतले खेलाडी तथा अफिसियललाई शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नगरउपप्रमुख नगेन्द्र संग्रौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्त, बिर्तामोड २, ५, ६ र १० नम्बरका वडाध्यक्षहरु, समाजसेवी मदनगोपाल सुब्बा, राजकुमार पोखरेलको उपस्थिति रहेको थियो । क्लबका सचिव सिएम खनालले सहजीकरण गरेको कार्यक्रममा क्लबका उपाध्यक्ष केशवराज दाहालले स्वागत गरेका थिए ।
Comments