Sajhamanch Archive

११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जाने बढेको बढ्यै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।

गएको साउनदेखि जेठसम्म ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा ३ दशमलव ८ प्रतिशतले धेरै हो । तर रेमिट्यान्सको वृद्धिदर भने कम भएको छ । अघिल्लो वर्षको ११ महिनामा रेमिट्यान्स १२ दशमलव ६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १ दशमलव ५ प्रतिशतले वृद्धि भइ ७ अर्ब ५१ करोड डलर पुगेको छ ।

यस्तै ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भइ ३ लाख १३ हजार ३ सय ६७ जना पुगेको छ । अघिल्लो वर्षको ११ महिनामा यस्तो सङ्ख्या ६८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ सय ८ प्रतिशतले वृद्धि भइ २ लाख ५९ हजार ९१ जना पुगेको छ । अघिल्लो वर्षको ११ महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२ प्रतिशतले घटेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *