Sajhamanch Archive

निजामती सेवा ऐन जारी गर्नुपर्ने भन्दै झापाका कर्मचारी सङ्गठनहरूले बुझाए ज्ञापनपत्र

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज by .

झापा । सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गरी कार्यान्वयनमा ल्याउन कर्मचारी सङ्गठनहरूले माग गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन र आधिकारिक ट्रेड युनियनले निजामती सेवा ऐन तत्काल कार्यान्वयनमा ल्याउनु पर्ने भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र पठाएको छ ।

निजामती कर्मचारी सङ्गठन झापाका अध्यक्ष केदार पोखरेल, कर्मचारी युनियन झापा अध्यक्ष कविन्द्रबिक्रम नेम्वाङ्ग, राष्ट्रिय कर्मचारी सङ्गठन झापा अध्यक्ष यदुनन्दन दाहाल, एकीकृत सरकारी कर्मचारी सङ्गठन झापा अध्यक्ष नीरज कट्टेल, आधिकारिक ट्रेड युनियन झापा अध्यक्ष लक्ष्मी गुरागाईँसहित कर्मचारीहरूको टोलीले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई सो ज्ञापनपत्र बुझाएका हुन् ।

देश सङ्घीय राज्य व्यवस्थामा गएको लामो समय बितिसक्दा पनि सङ्घीय शासन प्रणालीको कार्यान्वयनको लागि सङ्घ, प्रदेश तथा स्थानीय सरकारले कर्मचारी प्रशासन व्यवस्थापन गर्ने छाता कानुनको रुपमा रहेको सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अस्थिर र अन्योलताको भुमरीमा परेको ज्ञापनपत्रमा उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रुपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको विषय हो र यस विषयमा सरोकारवाला निकाय तथा नेपाल सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएको छैन । ‘ऐन नबन्दा सेवा प्रवाहमा पारदर्शी र स्थिरता नआउने भन्दै तत्काल सेवा ऐन जारी गरी चुस्त दुरुस्त प्रभावकारी, पारदर्शी तरिकाले सेवा प्रवाह गर्न जोड दार माग गर्दछौ, ज्ञापनपत्रमा भनिएको छ । आफूले धेरै वर्ष अगाडीबाट सेवा ऐन बनाउन दबाब दिँदै आएको बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘बुझिएको ज्ञापनपत्रलाई यथाशीघ्र प्रधानमन्त्रीको कार्यालयलाई पठाएर सहयोग गर्ने छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *