Sajhamanch Archive

भद्रपुरमा शृंखलाबद्ध चोरीः घटनामा संलग्न थप एकजना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by .

बिर्तामोड । भद्रपुर बजारमा शृंखलाबद्ध चोरीका घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ५ देवी बस्ती बस्ने रामप्रसाद सहनीको छोरा १९ वर्षीय वरुण सहनी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । फरार रहेका सहनीलाई बुधवार बेलुका ८ बजे सिराहा जिल्ला मिर्चैया नगरपालिका १ मल्हनिया स्थित आफन्तको घरबाट पक्राउ गरिएको डिएसपी पाठकले बताए ।

चोरी घटनामा संलग्न भद्रपुर–५ देवीबस्तीका १८ वर्षीय मोहम्मद प्यारेलाई प्रहरीले मङ्गलवार दिउँसो घर नजिकैबाट पक्राउ गरेपछि उनकै बयानका आधारमा उनका साथी सहनी पक्राउ परेका हुन् । सहनीले दिएको बयानकै आधारमा प्रहरीले चोरी गरिएका विभिन्न कम्पनीका २८ वटा मोबाइल सूर्य प्लाई फ्याक्ट्रीको वाल कम्पाउन्डको पूर्व पट्टीको पिठारीको रुखको फेदमा प्लास्टिकले बेरेर लुकाई राखेको अवस्थामा फेला पारेको छ ।

प्रहरीले मोहम्मद प्यारेको घरबाट इँटाले लुकाइछिपाई राखेको सिक्सर÷रिभल्भर पेस्तोलमा प्रयोग हुने ८० राउन्ड गोली, भद्रपुर ५ स्थित देवी बस्ती कालीमन्दीरको पश्चिम पट्टीको वाल छेउको झाडीबाट २७ थान मोबाइलको चार्जर, प्रियङ्का मोबाइल पसल पछाडि झाडीको बालुवामा लुकाई राखेको सोही पसल फुटाएको एक थान ताला, ताला फुटाउन प्रयोग भएको तिखो फलामको एउटा रड चोरी भएको मोबाइलका खोलहरू, १० लिटर पेट्रोल, अमूल जुस १९ थान बरामद गरिएको डिएसपी पाठकले बताए ।

उनीहरूले गत असार २५ गते मध्यरातमा भद्रपुर– ६ स्थित राज अग्रवालको प्रियङ्का मोबाइल पसलको सटरको ताला फुटाएर २९ वटा मोबाइल र नगद ६१ हजार ५ सय रुपैयाँसहित आधा दर्जन बढी पसलहरूमा चोरी गरेका थिए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *