Sajhamanch Archive

जनार्दन शर्मा प्रकरणः शुक्रवार अर्थ सचिव र राजस्व सचिवसँग छलफल गरिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाण्डौ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बिहीवारको बैठकले शुक्रवार अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ ।

आज बिहीवार सिंहदरवारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण नआएकाले एजेन्डामा छलफल हुन नसकेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए। उनले बुधवार अर्थ मन्त्रालयलाई पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण माग गरे पनि नआएको र बिहीवार कार्यालय सयमभित्र आउने अपेक्षा गरेको बताए।

सचिव शर्माले समितिले तोकिएको समयमा नै छानविन प्रतिवेदन तयार गर्ने दृष्टिकोणसहितको कार्यतालिका भने पास गरेको सुनाए। अब सात दिनभित्र नै अध्ययन प्रतिवेदन लेख्ने गरी काम गर्ने सहमति भएको उनको भनाइ छ । सचिव अर्यालले बिहीवार पनि समितिको सभापति भने चयन हुन नसक्दा ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बैठक बसेको जानकारी दिए ।

सचिव अर्यालले शुक्रवार बिहान १० बजे समितिको बैठक बसेर मन्त्रालयबाट आएको कागाजत तथा विवरणको अध्ययन गर्ने र १२ बजे अर्थ सचिव र राजस्व सचिवसँग छलफल गरिने बताए।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९–२०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *