भाउन्नेको सामुदायिक वनमा सडेर दुर्गन्धित भएको अवस्थामा महिलाको शव फेला
Published:
by .मोरङ । मोरङको भाउन्नेस्थित एउटा सामुदायिक वनभित्र सडेर दुर्गन्धित भएको अवस्थामा मङ्गलबार दिउँसो महिलाको शव फेला परेको छ ।
बेलबारी नगरपालिका–१० भाउन्नेको सिर्जना सामुदायिक वनभित्र अन्दाजी ४५–४६ वर्षीया महिलाको शव भेटिएको हो । निगुरो टिप्न गएकाहरुले जङ्गलमा उत्तानो परेको अवस्थामा महिलाको शव देखेपछि दिउँसो २ः३० बजेतिर प्रहरीलाई खबर गरेका थिए ।
मोरङ प्रहरीका डिएसपी राजन कार्कीका अनुसार सडेर दुर्गन्धित भएको र शरीरका केही भागमा किरा परेको अवस्थामा शव फेला परेको हो । शवको पहिचान हुन नसकेको र महिलाको मृत्युको कारण पनि खुल्न बाँकी रहेको उनले बताए ।
‘शवको प्रकृति हेर्दा घटना केहीदिनअघि भएको जस्तो देखिन्छ,’ उनले भने, ‘पोस्टमार्टमका लागि शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाको अनुसन्धान थालिएको छ ।’ पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण खुल्ने अपेक्षा गरिएको र मृतकको पहिचानको प्रयास भइरहेको डिएसपी कार्कीले बताए ।
उनका अनुसार शरीरमा निलो–सेतो रङ्गको बुट्टे कुर्ता र रातो–कालो धर्का भएको सलवार लगाएको अवस्थामा शव भेटिएको हो । प्रारम्भिक रूपमा जाँचबुझ गर्दा महिलाको शरीरमा चोट र नीलडाम नदेखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शवनजिक नेल पोलिसको बट्टा र एउटा बोरा तथा बोराभित्र निगुरो र सालको पात फेला परेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ ।
Comments