Sajhamanch Archive

मदन भण्डारी लोकमार्ग कालोपत्रे रोकियो

Published: (Updated: ) in समाज by .

उदयपुर। धरान–चतरा–हेटौंडा सडक योजना कालोपत्रे गर्ने काम प्रभावित भएको छ । योजनाको पूर्वी खण्डअन्र्तगत सिन्धुलीको भिमानदेखि उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित वीरेन्द्र चोकसम्मको अधिकांश भागमा कालेपत्रे गर्ने तयारी भए पनि टेवा पर्खाल नहुँदा काम प्रभावित भएको हो ।

पूर्वी खण्डको १ सय ३४ किलोमिटरमा सडक निर्माण जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरले करिब दुई वर्षयता गरिरहेको छ । यो खण्डमा निर्माण हुने ४३ पुलबाहेक सडकको पूर्वाधार निर्माण भइसकेको छ । कतिपय स्थानमा बेस र सबबेसको काम भई कालोपत्रे गर्ने अवस्था भइसकेको छ । तर टेवा पर्खालको काम नहुँदा कालोपत्रे गर्ने काम प्रभावित भएको हो ।

सडकको पूर्वाधार तयार भई कतिपय स्थानमा कालोपत्रे गर्ने काम मात्र बाँकी छ । सडक निर्माणका क्रममा अधिकांश स्थानमा २० देखि २५ मिटरसम्म दुबैतर्फ पहाड कटिङ गरिएको छ । पहाड कटिङ भएका स्थानमा टेवा पर्खाल नदिई कालोपत्रे गर्नुको कुनै औचित्य छैन ।

त्यसैले कालोपत्रे गर्न नसकिएको जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले बताए ।

‘सडक निर्माणको कामले ३/४ महिनायता खासै गति लिन सकेको छैन,’ जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले भने, ‘पहाड कटिङ भएका स्थानमा टेवा पर्खाल नदिँदा पहिरो जाने सम्भावना बढी छ ।’ त्यसैले टेवापर्खाल नदिई कालोपत्रे गर्नुको औचित्य नभएको उनले बताए ।

टेवा पर्खाल दिने/नदिने भन्ने विषयमा सडक विभागबाट निर्णय भएको छैन । टेवा पर्खालका विषयमा निर्णय नआउँदा कालोपत्रे गर्ने अवस्थामा पुगेको काम रोकेर राख्नु परेको म्यानेजर पोखरेलले बताए । ‘विद्युत पोल, सडकभित्र पर्ने घर, र बन क्षेत्रका कारण पनि सडक निर्माणले गति लिन सकेको छैन,’ प्रोजेक्ट म्यानेजर पोखरेलले भने, ‘कटारी नगरपालिका क्षेत्रको नामीदाली र गहिया क्षेत्रको करिब डेढ किलोमिटर सडक खण्डको डिजाइन परिवर्तन गरिएकाले त्यस क्षेत्रका विद्युत् पोल, घर र वन क्षेत्र समस्या बनेका छन् ।’ सिन्धुली खण्डको सडकमा पर्ने पोल सार्न गतसाल नै ठेक्का लगाइए पनि हालसम्म सार्ने काम नहुँदा समस्या भएको उनले बताए ।

सडक निर्माणको काम तोकिएको समयमै सक्ने गरी भइरहे पनि नदीजन्य पदार्थ उत्खननमा तीन महिनासम्म लगाइएको रोक, टेवा पर्खालका विषयमा हुन नसकेको निर्णय, वनक्षेत्र, पोल र सडक क्षेत्रमा पर्ने घरका कारण पछिल्लो समय निर्माण कार्यले गति लिन नसकेको आयोजनाले जनाएको छ ।

धरान–चतरा–हेटौंडा पूर्वी खण्डको १ सय ३४ किलोमिटरमध्ये करिव ३५ किलोमिटरमा कालोपत्रे गर्ने तयारी गरिए पनि टेवा पर्खाल दिनुपर्ने अवस्था छ । सडकको दुबैतर्फ ठूलाठूला कटिङ भएकाले टेवा पर्खाल नदिई कालोपत्रे गर्दा सडक दिगो हुँदैन । तर यस विषयमा विभागबाट कुनै निर्णय आएको छैन । हाल बन क्षेत्र, विद्युत् पोल र घर नपर्ने क्षेत्रमा काम भइरहेको जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरले जनाएको छ ।

‘कटिङ गरिसकेपछि मात्रै टेवा पर्खालको स्टिमेट हुन्छ,’ आयोजनाका इन्जिनियर रामविहारी चौधरीले भने, ‘कटिङ भएको स्थानमा बायोइन्जिनियरिङ र पर्खाल पनि लागउन सकिन्छ ।’ त्यसका लागि मूल्यांकन गरेर विभाग पठाएको उनले बताए ।

सरकारले मदन भण्डारी लोकमार्ग नामकरण गरेको धरान–चतरा–हेटौंडा सडक योजना दुई खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्का लगाइएको छ । धरानदेखि सिन्धुलीको भिमानसम्म पूर्वी खण्डमा पर्छ । पूर्वी खण्डमा ४३ वटा पुलसहित १ सय ३४ किलोमिटर सडक निर्माण करिब दुई वर्षयता भइरहेको छ ।

विभिन्न खोलामा निर्माण हुने पक्की पुलबाहेक ६ अर्ब रुपैयाँ लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी सडक निर्माणको काम भइरहेको सडक आयोजनाले जनाएको छ । यस खण्डमा पर्ने ४३ पुल निर्माणको ठेक्का भने कोभेक/रसुवा/टुन्दी जेभी कन्स्ट्रक्सनले लिएर काम गरिरहेको छ ।

सवारी साधनका लागि ७ मिटर र दायाँबायाँ सोल्जर क्षेत्र २/ २ मिटर गरी ११ मिटर सडक कालोपत्रे हुने यो सडक ०७६ सालसम्म निर्माण सक्ने गरी ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको छ ।

कान्तिपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *