Sajhamanch Archive

झापामा ब्याडमिन्टन खेल्दै एमालेका अध्यक्ष ओली

Published: in विविधा by .

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै समय नियमित जस्तो ब्याडमिन्टन खेल्थे ।

शारीरिक ब्यायामका लागि ब्याडमिन्टन खेल्दा उनले पार्टीका थुप्रै नेतालाई हराएका छन्, थुप्रै नेतासँग हारेका छन् ।

१०÷१२ वर्ष भयो, उनले ब्याडमिन्टन खेलेका थिएनन् । बुधबार गृहजिल्ला झापा पुगेका ओली बिहीबार विहानै फेरि ब्याडमिन्टन कोर्टमा झुल्किए । महानन्द चोकस्थित बिग ब्रदर्श ब्याडमिन्टनमा पुगेका उनले करिव एक घण्टा खेले ।

उनले घरि सटललाई र्‍याकेटमा राखेर सर्भिस गरे । विपक्षी टोलीले हानेको प्रहारलाई रिसिभ गर्ने क्रममा कहिले ब्याक ह्यान्ड, कहिले फोरह्यान्ड र स्म्यासमै एक घन्टा खर्च गरे । देखिजान्नेहरुका अनुसार उनको ट्याकल खेलको नियमभित्रै थियो ।

एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलका अनुसार झापा जाने कार्यक्रम तय भएपछि उनले शारीरिक ब्यायाम गर्ने भए ब्याडमिन्टन खेल्न सकिने जानकारी गराएका थिए । ‘लुगा बन्दोबस्त गरेर आउनुस् है भनेको थिएँ,’ नेता खरेलले अनलाइनखबरसँग भने, ‘उहाँ तयारीका साथ आउनुभएको रहेछ ।’

ओलीले जेलमा बस्दा नै ब्याडमिन्टन सिकेका थिए । त्यसपछि पनि खेलिरहन्थे । तर खुट्टा मर्किएपछि ओलीले ब्याडमिन्टन खेल्न छाडेको १०÷१२ वर्ष नै भएको खरेलले सुनाए ।

बिहीबार झापामा ओली र भलिबलका पूर्व राष्ट्रिय खेलाडी प्रभा काङमाङको जोडी र खरेल र कुमार राईको जोडीले झण्डै एक घण्टा खेलेको थियो । ‘खेल चाहिँ हामीले जित्यौं’ खरेलले हाँस्दै भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *