बीमाको साढे दुई करोड हत्याउन नक्कली विहे गरेर युवकको हत्या, ६ जना पक्राउ
Published:
by .काठमाडौँ । बीमाको पैसा हत्याउनका लागि एक युवकको हत्या भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज ९शुक्रबार० पत्रकार सम्मेलन गरी बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् दुई करोड ५० लाख रुपैयाँको बीमा असुल गरिएपछि बीमाको पैसा लिनका लागि हत्या गरिएको रहस्य खुलाएको हो ।
प्रहरीले बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर(२ का २१ वर्षीय सपना मल्ल, स्याङ्जा वालिङ(६ घर भई हाल बाँकेको कोहलपुर(११ बस्ने ३१ वर्षीय सञ्जीव अर्याल, कोहलपुर(१५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँकेकै बैजनाथ गाउँपालिका(८ बस्ने ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटा छन् ।
अनुसन्धान ब्यूरोले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरीले उनीहरुविरूद्ध सङ्गठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
यो गिरोहले गरिब परिवारका एक युवकलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमा समेत गराएको पाइएको छ । नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखी बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको छ ।
वार्षिक आम्दानी २ लाख मात्रै भएका युवकको २ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ । हत्यापछि इन्सुरेन्सबाट आएको पैसा गिरोहका सदस्यहरूले बाँडेर लिएको पाइएको छ ।
यसरी खुल्यो हत्याको रहस्य
२ करोड ५० लाख रुपैयाँ बराबरको इन्सुरेन्स गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । मोटरसाइकल चलाउने लाइसेन्स समेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो ।
सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो । मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स इन्सुरेन्सबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए ।
मृतकको नजिकको हकवालाका रूपमा श्रीमती बनाइएकी सपना मल्लको बैंक खातामा इन्सुरेन्स कम्पनीले २ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको थियो । उक्त रकममध्ये मुख्या योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार रुपैयाँ, दीपक केसीले ६० लाख छवि कुमारी खत्री नाम गरेकी सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको पाइएको छ । त्यसैगरी चालकले समेत रकम लिएको र बाँकी रकम सपना आफैले राखेको प्रहरीले जनाएको छ ।
Comments