Sajhamanch Archive

बिर्तामोडलाई सुझाव–‘दुर्गन्ध फैलिसक्यो, फोहोरमैला उठाऊ’

Published: in मुख्य समाचार, विविधा, विविधा, समाज, स्थानीय तह by .

विर्तामोड । उपभोक्ता जागरण अभियान झापाले बिर्तामोड नगर क्षेत्रमा फोहोरमैला थुप्रिएर दुर्गन्ध र संक्रामक रोगको प्रकोप फैलिनसक्ने बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

आज अभियानका झापा अध्यक्ष मोहन काजी र केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको उपस्थितिमा ध्यानाकर्षण पत्र विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईलाई बुझाइएको थियो ।

ध्यानाकर्षण पत्रमा यसो भनिएको छ–

‘झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड सहरको राजमार्ग, बजार, गल्ली र सार्वजनिक स्थलहरुबाट यही साउन पहिलो सातायता फोहोरमैला उठाउने कार्य ठप्प हुँदा यसबाट आम नागरिकको स्वास्थ्य र उपभोक्ता हितमा पर्न नकारात्मक असर बारेमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।

फोहोरमैलाको संकलन र उचित विसर्जन गर्ने मूल दायित्व स्थानीय नगरपालिकाको हो । नगरपालिकाले यस विषयमा हेलचेक्राई गर्दा हरेक नागरिकले स्वस्थ र सफा वातावरणमा जिउन पाउने हक अधिकारमाथि कुठाराघात भएको ठहर गर्दै अबिलम्ब फोहोरमैला उठाउने र उचित स्थानमा बिसर्जन गर्ने व्यवस्था मिलाउन नगरपालिकाको ध्यानाकर्षणसहित जोडदार माग गर्दछौं ।’

साउनदेखि थुप्रियो फोहोर

बिर्तामोडमा साउन पहिलो सातादेखि सहरको फोहोरमैला उठेको छैन । एक निजी कम्पनीले विगतमा फोहोरमैला उठाउने गरेको भए तापनि सम्झौताको म्याद सकिएको कारण जनाउँदै उसले पनि काम गरेको छैन ।

ध्यानाकर्षण पत्र बुझ्दै विर्तामोड नगरपालिकाकी मेयर महतराले विसर्जन गर्ने डम्पिङ साइट सञ्चालन गर्दा नागरिक तहबाटै अवरोध पुर्याइने गरेका कारण फोहोरमैला उठाउन नसकिएको बताइन् ।

‘हामी पनि उत्तिकै चिन्तित छौं, दिनरात नभनी डम्पिङको खोजी गरिरहेका छौं,’ प्रमुख महतराले भनिन्–‘बल्लबल्ल फोहोर बिसर्जन गर्ने ठाउँ खोज्छौं, बाहिरदेखिका मानिस भेला भएर फोहोर राख्नै दिदैनन् ।’

फोहोरमैला व्यवस्थापनको कार्य बिर्तामोड नगरपालिका एक्लैले नसक्ने जनाउँदै उनले छिमेकी मेचीनगर, अर्जुनधारा, बाह्रदशी र कनकाईले मिलेर साझा डम्पिङ साइट खोज्न आवश्यक रहेको धारणा व्यक्त गरेकी छन् ।

बिर्तामोडका उपप्रमुख नगेन्द्र संग्रौलाले टालटुले समाधानको साटो फोहोरमैला व्यवस्थापनका लागि वरपरका पालिकाहरु मिलेर दीगो समाधानको उपाय खोज्नु पर्ने बताए ।

उनले बिर्तामोडको ८० प्रतिशत फोहोरमैला बाहिरबाट आएकाहरुले गरेको जिकीर गर्दै वरपरका पालिकाले विर्तामोडको दमकल प्रयोग गरे जस्तै विर्तामोडको फोहोर बिसर्जन गर्ने स्थानको खोजीमा सहकार्य हुनुपर्ने आग्रह गरेका छन् ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, जागरण अभियानका उपाध्यक्ष निलकण्ठ तिवारी, सचिव विशाल थापा, सहसचिव अनिता दाहाल, सदस्य धर्मेन्द्र गुप्ता लगायतको उपस्थिति थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *