Sajhamanch Archive

मंसिर ४ अघि ७५३ वटै स्थानीय तहमा नमुना मतदान गराउँदै आयोग, नमुना मतपत्र जिल्ला–जिल्लामा

Published: in मिडियाबाट साभार, विविधा by .

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अघि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । त्यसका लागि आयोगले नमुना मतपत्र समेत छापिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाई अघि जनक शिक्षा सामग्री केन्द्रमा मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाई गरिएको हो ।

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आयोगले यो कार्यक्रम गर्न लागेको रातोपाटीलाई जानकारी दिए । अर्यालले भने, ‘हामीले ७५३ वटै स्थानीय तहमा नमुना मतदान गर्ने कार्यक्रम राखेका छौं । देशका सबै पालिकामा मतदाताहरूलाई सरिक गराएर कम्तीमा एक–एक वटा नमुना मतदान गराउने आयोगको कार्यक्रम छ । सो अनुसार हामी जिल्लामा नमुना मतपत्र पठाउँछौँ । एउटा पालिकामा हामीले छ–सात सय नमुना मतपत्र पठाउने गरी मतपत्र छापेका छौँ ।’

एउटा पालिकामा कम्तीमा पाँच सयदेखि छ सय नमुना मतपत्र पठाउने तयारी गरेको उनले बताए । सोही संख्यामा मतदाताले नमुना मतदान प्रक्रियामा सहभागी हुन पाउने उनको भनाइ छ । उनले भने, ‘जिल्ला निर्वाचन कार्यालय मार्फत स्थानीय तहमा नमुना मतदान कार्यक्रम गर्न लागेका हौँ । त्यसका लागि प्रत्येक जिल्ला निर्वाचन कार्यालयलाई नमुना मतपत्र पठाउँछौँ । आवश्यक बजेट पनि पठाउँछौँ । त्यही अनुसार उहाँहरुले सबै पालिकामा गएर नमुना मतदान गराउनुहुनेछ ।’

जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहसँग समन्वय गरेर नमुना मतदानको कार्यक्रम गर्ने तयारी छ । नमुना मतदानको काम दसैँ पछिबाट सुरु हुने उनले बताए । दसैँ सकिएपछि निर्वाचनको समय आउन झन्डै ४० दिन बाँकी हुने भएकोले सो अवधिमा सबै स्थानीय तहमा नमुना मतदानको काम सम्पन्न गर्ने लक्ष्य लिइएको उनको भनाइ छ ।

दसैँ पछिबाट निर्वाचनको पनि माहोल बन्दै जाने भएकाले त्यो बेला मतदाता शिक्षालाई प्रभावकारी बनाउनका लागि यो कार्यक्रम राखिएको सहप्रवक्ता अर्यालले रातोपाटीलाई बताए । स्थानीय तहमा नमुना मतदानको कार्यक्रम एकै दिन नगरेर फरक फरक समयमा गर्ने उनले बताए ।

मतदाता शिक्षा कार्यक्रमका लागि केही सन्देश भने दसैँ अगाडि देखिनै सुरु गर्ने र खरिद प्रक्रियाबाट उत्पादन हुने मतदाता शिक्षा कार्यक्रमको प्रसार सामग्री दसैँपछिबाट अगाडि लैजाने तयारी छ । दसैँ पछिसम्म प्रत्यक्ष तर्फका उम्मेदवारहरूको पनि टुङ्गो लागिसक्ने भएकाले त्यसपछि निर्वाचन शिक्षा कार्यक्रमलाई व्यापक बनाएर लैजाने उनले बताए । यस्तै आयोगले मतदाता शिक्षाका लागि देशका विभिन्न जिल्लामा सांगीतिक कन्सर्ट गर्ने कार्यक्रम पनि राखेको छ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड मतपत्र छपाइको काम सुरु

यसैबीच आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको निर्वाचनका लागि मतपत्र छपाइको काम सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र सानोठिमीमा २ दिन अघिबाट समानुपातिक तर्फको मतपत्र छपाई थालिएको हो ।

संघीयतर्फ २ करोड मतपत्र र प्रदेशतर्फ २ करोड मतपत्र गरी झण्डै ४ करोड हाराहारी मतपत्र छपाई गरिने आयोगका सहप्रवक्ता अर्यालले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘प्रदेशगत रुपमा निर्वाचनमा भाग लिन भदौ १० देखि १२ गतेसम्म निवेदन दिएर कायम भएका दलहरूको चिह्न राखेर मतपत्र छपाइको काम सुरु भएको छ । प्रदेशस्तरको लागि करिब २ करोड थान मतपत्र छापिन्छ । यस्तै प्रतिनिधिसभाको पनि करिब २ करोड गरी झण्डै ४ करोड समानुपातिक तर्फको मतपत्र छापिँदैछ ।’

यो मतपत्र छापि नसक्दै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम सुरु हुने उनको भनाइ छ । समानुपातिक तर्फको मतपत्र झन्डै एक महिनाभित्रमा छपाई गरिसक्ने आयोगको तयारी छ ।

आगामी असोज २३ गतेबाट असोज २६ गतेसम्म उम्मेदवारको मनोनयन कार्यक्रम सकिएपछि असोज २६ गते निर्वाचन चिह्न दिने कार्यक्रम छ । उम्मेदवारी दिएका दल र उम्मेदवारको मात्र चुनाव चिह्न राखेर प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको मतपत्र छपाई गर्ने आयोगको तयारी छ । असोज २७–२८ गतेबाट प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको मतपत्र छपाइको काम सुरु गर्ने आयोगले जनाएको छ ।

दुर्गम जिल्लाका लागि सबैभन्दा पहिला मतपत्र छपाई हुने र सुगम तथा सहरी क्षेत्रका लागि अलि पछाडि मतपत्र छपाई हुने सहप्रवक्ता अर्यालले बताए । झन्डै एक महिना अर्थात् कर्तिकको २५ गतेसम्म प्रत्यक्ष निर्वाचन प्रणालीको मतपत्र छापिसक्ने योजना रहेको उनको भनाइ छ ।

उनका अनुसार निर्वाचनका लागि चाहिने ५८ प्रकारका सामग्रीहरुमध्ये अधिकांशको खरिद प्रक्रियाका लागि सम्झौता भइसकेको छ । बोलपत्र स्वीकृत भएर सम्झौता भएका पक्षहरुलाई सामग्री उपलब्ध गराउने समय दिइएको र उनीहरुले निर्धारित समयमा सामग्री दिन थाल्ने उनको भनाइ छ ।

निर्वाचनका लागि खरिद भएर आउने सामग्री राख्नका लागि आयोग परिसरमा टेन्ट तथा स्टोरको व्यवस्था गर्ने काम भइरहेको छ । यस्तै आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका तथा कार्यविधिहरू संशोधन तथा बनाउने काम गरिरहेको उनले बताए । साथै मतदाता नामावली अध्यावधिक गर्ने काम पनि आयोगले गरेको छ । यही भदौ ३१ गते अन्तिम मतदाता नामावली, मतदान स्थल र केन्द्रको नामावली टुङ्गो लगाउने आयोगको तयारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *