झापामा को कहाँबाट चुनाव लड्दैछन्
Published: (Updated: )
by .झापा । संघीय गणतन्त्र नेपालको दोस्रो प्रतिनिधि सभा र प्रदेश सभाका लागि यही २०७९ मंसीर ४ गते आम निर्वाचनको मिति तय भएको छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरुको नाम पेश गर्न दिएको मिति असोज २ र ३ तथा नाम सच्याउन दिएको समयसीमा असोज १६ पनि सकिएको छ । धेरैजसो राजनीतिक दलहरुले समानुपातिकतर्फ को कसलाई उम्मेदवार बनाए ? नेपाली कांग्रेसबाट गोपनियता चुहिए पनि अन्य दलको लगभग गोप्य नै छ ।
समाचार तथा सामाजिक सञ्जालमा बाहिरिएका विभिन्न राजनीतिक दलका उम्मेदवारका केही नामावलीहरु पनि असोज १६ गते पछि फेरिएका छन् । यस मानेमा सो बन्द सूचि साँच्चैको गोप्य सूची नै बनेको छ । जुन कुरा राजनीतिकर्मीहरु र सूचनाका प्यासीहरुका लागि अत्यन्तै चासोको विषय हो ।
झापामा प्रतिनिधिसभाका ५ वटा र प्रदेशसभाका १० वटा निर्वाचन क्षेत्रहरु छन् । गत निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको चुनावी तालमेलले १५ वटै निर्वाचन क्षेत्रमा तिनका उम्मेदवार विजयी भएका थिए ।
निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा एकीकृत माओवादीका राम कार्की ‘पार्थ’ तथा प्रदेशसभामा नेकपा एमालेका श्रीप्रसाद मैनाली र गोपालचन्द्र बुढाथोकीले एक कार्यकाल नेतृत्व गरेका थिए ।
यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका पवित्रा निरौला खरेल तथा प्रदेशसभामा नेकपा एमालेका एकराज कार्की र बिर्ख प्रधान विजयी भएका थिए ।
निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन विजयी भएका थिए । प्रदेशसभामा क बाट एमालेका बसन्त बानियाँ र ख बाट एमाओवादीका पूर्णसिंह राजवंशी निर्वाचित भएका थिए ।
यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ बाट नेकपा एमालेका एलपी साँवा विजयी भएका थिए भने प्रदेश सभामा क बाट एमालेका हिरा थापा र ख बाट एमाओवादीका झलक बहादुर मगर सांसद बने ।
प्रतिनिधिसभामा झापा निर्वाचन क्षेत्र नं. ५ बाट नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विजयी भएका थिए । प्रदेशसभामा ५ क बाट एमालेका हिक्मत कार्की र ख बाट एमालेका अर्जुन राई विजयी भएका थिए ।
पाँच वर्षपछि हुन लागेको आवधिक निर्वाचनमा देशका राजनीतिक दलहरुले समीकरण फेरेका छन् । नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको पाँच दलले एउटा मोर्चा बनाएका छन् ।
नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलेदेखि नै सकारात्मक थियाे भने लाेसपाले चुनावी मोर्चा बनाउने गरी असाेज २० गते साँझमात्र हस्ताक्षर गरेका छन् । सिपी मैनाली नेतृत्वको नेकपा मालेसहित अन्य कतिपय साना दलहरु पनि एमालेको समर्थनमा रहेको बताउन थालेका छन् ।
यस्तो परिस्थितिमा उम्मेदवारी मनोनयन दर्ताको दुई दिन पहिले कुन दलले क–कसलाई उम्मेदवार बनाउँदैन् भन्ने आम चासो हुनु स्वाभाविक हो । हालसम्म प्राप्त पछिल्लो सूचनालाई आधार बनाएर यहाँ मुख्य दलका उम्मेदवारहरु बारे उल्लेख गरिएको छ ।
नेकपा एमाले र राप्रपा गठबन्धन
नेकपा एमालेले झापाका पाँचवटै संघीय र प्रदेश सांसदका उम्मेद्वारको टुंगो लगाएको छ । राप्रपासँगको तालमेलमा एक संघीय निर्वाचन क्षेत्र र दुईवटा प्रदेश छोडेर एमालेले चारवटा संघीय र ८ वटा प्रदेश निर्वाचन क्षेत्र आफूले राखेको छ । उम्मेद्वारहरुको अन्तिम सूची आज नै झापा आइपुग्ने पार्टी केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार झापा क्षेत्र नं. ५ मा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बन्नेछन् । क्षेत्र नं. १ मा पार्टी स्थायी कमिटी सदस्य अग्नि खरेललाई अघि सार्ने निर्णय भएको छ । उक्त क्षेत्रबाट संघीय सांसदका लागि सर्वसम्मत सिफरिसमा परेका केन्द्रीय सदस्य रविन कोइरालालाई प्रदेशसभा सदस्य बनाइने भएको छ ।
क्षेत्र नं २ मा स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरे उम्मेदवार बन्नेछन् । क्षेत्र नं ३ मा एमालेले राप्रपालाई छोडेको छ । सो क्षेत्रबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको उम्मेद्वार बन्नेछन् । यस्तै क्षेत्र नं. ४ मा लालप्रसाद (एलपी) सावाँ लिम्बूले पुनः उम्मेदवारी पाएका छन् ।
प्रदेश सभातर्फ क्षेत्र नं १ को ख क्षेत्र राप्रपालाई छोडेर क क्षेत्रमा एमाले केन्द्रीय सदस्य कोइरालालाई उम्मेद्वार बनाउने तयारी छ । क्षेत्र नं. २ को क बाट निवर्तमान सांसद एकराज कार्की नै उम्मेदवार बन्नेछन् भने ख बाट पार्टीका प्रदेश सचिव चिन्तन पाठक उम्मेदवार निश्चित भएका छन् ।
यस्तै, निर्वाचन क्षेत्र नं. ३ ख मा एमाले केन्द्रीय सदस्य हरि राजवंसी र क मा प्रदेश सदस्य एवं निवर्तमान सांसद बसन्त बानियाँ उम्मेद्वार हुनेछन् । क्षेत्र नं ४ क बाट एमालेका राधाकृष्ण खनाल उम्मेदवार बन्नेछन् भने ख क्षेत्र राप्रपाले उम्मेदवार पठाउने छ ।
निर्वाचन क्षेत्र नं. ५ को क मा पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व प्रदेशमन्त्री हिक्मत कार्की र ख मा पार्टीका प्रदेश सदस्य होमबहादुर थापा उम्मेद्वार बन्ने निश्चित भएको छ ।
कांग्रेस नेतृत्वको गठबन्धन
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले पनि माओवादीसँगको तालमेलमा झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । कांग्रेसले निर्वाचन क्षेत्र नं. १, ३ र ४ आफूले लिएर २ र ५ माओवादीलाई छाडिदिएको छ ।
पार्टी स्रोतका अनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ बाट महामन्त्री विश्वप्रकाश शर्मा उम्मेदवार बन्नेछन् । क्षेत्र नं. ३ बाट पूर्वमहामन्त्री तथा नेपाल सरकारका पूर्वमन्त्री कृष्ण सिटौलाले उम्मेदवारी दिँदैछन् भने क्षेत्र नं. ४ बाट जिल्ला सभापति देउकुमार थेवे उम्मेदवार बन्ने निश्चित भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमाओवादीका नेतृ तथा पूर्वमन्त्री धर्मशीला चापागाईं र क्षेत्र नं. ५ मा रञ्जित तामाङले प्रतिष्पर्धा गर्नेछन् । यसैबीच सत्ता गठबन्धनको भागवण्डामा झापा क्षेत्र नम्बर २ माओवादी केन्द्रलाई दिने निश्चित भएपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टी शीर्ष नेतृत्वप्रति आक्रोश पोखेका छन् ।
झापा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि काँग्रेसमा बुढाथोकीसँगै सुधीर शिवाकोटी, सरिता प्रसाईँ, जलकुमार गुरुङ र छत्र गिरीको नाम सिफारिस गरेको थियो । झापा २ मा काँग्रेसले जित्नसक्ने स्थानमा माओवादीलाई सुम्पिएको भन्दै बुढाथोकीले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । पार्टीभित्र संस्थापन पक्षका नेता बुढाथोकीले माओवादीलाई उम्मेदवार बनाएर पार्टीले आफ्नो नाक काटेको टिप्पणी गरेका छन् ।
स्थानीय तहको मतको आधारमा कांग्रेसभन्दा एमाले यस क्षेत्रमा अगाडि छ । एमालेले ३४ हजार ४१२ मत पाउँदा दोस्रो शक्ति काँग्रेसले ३१ हजार १५८ मत पाएको थियो । माओवादी केन्द्र झापामा चौथो शक्ति हो । माओवादीले स्थानीय चुनावमा दुई हजार ३५७ मत पाएको थियो ।
झापा २ बाट नै नेकपा मालेका महासचिव सिपी मैनालीले पनि उम्मेदवारी दिने चर्चा छ । नेकपा एमालेको साथ पाएमा आफू सो क्षेत्रबाट प्रतिष्पर्धा गर्ने उनको धोको छ ।
प्रदेश सभातर्फ नेपाली कांग्रेसका आकांक्षीको संख्या अत्याधिक भएकाले क्षेत्र नं. २ क बाट जलकुमार गुरुङको लगभग निश्चित भए पनि अन्य उम्मेदवारहरुबारे पार्टी स्रोत मौन बसेको पाइन्छ ।
Comments