Sajhamanch Archive

वैदेशिक रोजगारीबाट फर्किएका युवा युवतीलाई बृत्ती तथा व्यवसायिक परामर्श

Published: in विविधा by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई एक दिवशीय बृत्ती तथा व्यवसायिक परामर्श सम्बन्धि तालिम प्रदान गरिएको छ । पौरखी नेपाल काठमाण्डौको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा शिवसताक्षीको शिवगञ्जमा वैदेशिक रोजगारीबाट फर्किएका युवा युवतीहरुलाई एक दिवशीय तालिम प्रदान गरिएको हो ।

सरकारले भर्खरै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको लागि पुनःएकीकरण (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ सार्वजनिक गरेको छ । यस कार्यक्रम अन्तर्गत मुख्य तीन वटा काम गर्ने सरकारको योजना छ । रोजगारीमा आवद्धता कार्यक्रम अन्तर्गत सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप परीक्षण तथा प्रमाणीकरण गराई उनीहरुलाई रोजगारीमा लगाउन खोजेको छ ।

सीप परिक्षण तथा प्रमाणीकरण पश्चात बजारको माग र व्यक्तिको क्षमता अनुरूप रोजगारीको व्यवस्था गर्न सहज हुने सरकारी बुझाइ छ । त्यही अनुरुप पौरखी नेपालले शिवसताक्षीमा बैदेशिक रोजगारीबाट फर्किएका युवा युवतीलाई स्थानीयतहमा उद्यमशिलतासँग जोड्न तालिम दिएको पौरखी नेपालका झापा जिल्ला संयोजक फडिन्द्र दाहालले जानकारी दिए ।

वैदेशिक रोजगारीबाट कोभिडका कारण वा अन्य कुनै पनि कारणले फर्किएका युवा तथा युवतीहरुलाई उद्यमशिल बनाई स्थानीय स्तरमै आय आर्जन गर्न सक्ने बनाउने पौरखी नेपालको उद्देश्य रहेको उनले बताए । त्यस्तै उद्यमशीलता प्रवद्र्धन अन्तर्गत सरकारले वैदेशिक रोजगारीका क्रममा आर्जन गरेको पूँजी, ज्ञान, सीप, प्रविधि र अनुभवको सदुपयोग गर्दै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई उद्यमी बनाउन खोजेको छ । यसको लागि सरकारले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको वित्तीय साक्षरता र पहुँच बढाउन खोजेको कार्यक्रम संयोजक सुवास खत्रीले जानकारी दिए । हाल नेपालका २१ जिल्लामा पौरखी नेपालले कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तालिममा शिवसताक्षी नगरपालिका वडा नं. ६ की वडा सदस्य गोमा रिजालले आफ्नो भनाई राखेकी थिइन् । पौरखी नेपाल झापा संयोजक फडिन्द्र दाहाल, कार्यक्रम संयोजक सुवास खत्री र शिवसताक्षी नगरपालिका रोजगार शाखा प्रमुख विदुर तिम्सिनाले सहजीकरण गरेका थिए । शिवसताक्षीमा अप्रावासी कामदार हक हित केन्द्रले पनि बैदेशिक रोजगारीबाट फर्किएका युवा तथा युवतीहरुलाई पुन जागरण तथा स्थानीय स्तरमै काम गर्न सक्ने बनाउन तालिमहरु प्रदान गर्दै आएको छ । केन्द्र अध्यक्ष पारमणी आचार्यका अनुसार शिवसताक्षीमा धेरै वैदेशिक रोजगारबाट फर्किएका युवाहरु यहाँ काम गर्ने वातावरण नमिल्दा बेरोजगार भएर बसेका छन् । त्यस्ता युवाहरुलाई समेटेर थप उर्जाका साथ उद्यमशिलतासँग जोड्न केन्द्रले भूमिका खेल्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *