चौथो पटक संसदीय दलको नेता बनेका देउवाको छैटौ पटक प्रधानमन्त्री बन्ने बाटो खुल्ला
Published:
by .काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक पार्टीको संसदीय दलको नेता बनेका छन् ।
हाल पाँचौँ पटक प्रधानमन्त्री रहेका देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै अब छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
प्रतिनिधिसभामा ठूलो दलका रूपमा रहेको कांग्रेसका सभापति देउवा अब वर्तमान सत्ता गठबन्धनमा बहुमतको गणित पुर्याएर प्रधानमन्त्री बन्ने दाउमा छन् । बुधबार भएको निर्वाचनमा देउवाले ६४ मत ल्याए भने अर्का उम्मेदवार महामन्त्री गगन थापाले २५ मत पाएका छन् ।
०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेका थिए । दलको नेता भएकै कारण उनी ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बनेका थिए । पार्टीभित्रको समीकरणमा तत्कालीन सभापति कोइराला र नेता कृष्णप्रसाद भट्टराईको द्वन्द्व र माओवादी द्वन्द्व व्यवस्थापनमा असफल भएको आरोपका कारण देउवाले दोस्रो र तेस्रो पटकसमेत प्रधानमन्त्री बन्ने मौका पाए ।
०६२÷६३ को परिवर्तनयता पनि देउवा दुई पटक प्रधानमन्त्री भइसकेका छन् । ०६४ र ०७० का दुवै संविधानसभा निर्वाचनमा संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेपनि पराजित भएका देउवा ०७२ मा पार्टीको सभापति निर्वाचित भएपछि भने निरन्तर सभापति र दलको नेता छन् । ०७४ मा देउवाले संस्थापनइतर समूहका प्रकाशमान सिंहलाई पराजित गरेका थिए ।
वैधानिक सभापतिय प्रणालीमा चलिरहेको कांग्रेसमा संगठन र शक्ति सभापतिसँग हुन्छ । पछिल्लो तीन दशक निरन्तर शक्तिमा रहेर पार्टीमा संगठन गरेका देउवाले यसपटक १४औँ महाधिवेशनपछिको केन्द्रीय समितिमा ८० प्रतिशत बहुमत हासिल गरेका छन् । उनले निर्वाचनमा टिकट वितरण पनि त्यहीअनुसार गरेका थिए ।
यसपटक संसदीय दलको निर्वाचनमा उनलाई ३० वर्ष कान्छा महामन्त्री थापाले चुनौती दिएका थिए भने उनीविरुद्ध नेता शेखर कोइराला, पार्टी उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, नेता प्रदीप पौडेललगायतको मोर्चाबन्दी थियो । सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि अब उनको नेतृत्वमा सत्ता गठबन्धनको सरकार गठनकालागि बाटो खुला भएको छ ।
देउवाले गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित दलहरुलाई संसदीय दलको नेता चयन भइसकेपछि शक्ति बाँडफाँट गर्ने आश्वासन दिदै आएका थिए । देउवा दलको नेता चुनिएपछि अब गठबन्धनमा शक्ति बाँडफाँट र नयाँ सरकार गठनको छलफल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनकालागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएकी छिन् ।
प्रवक्ता प्रकाशशरण महतले अब दलहरुबीच सहकार्य र छलफल गरेर सरकार निर्माणको बाटो खुलेको बताए । ‘पार्टीको संसदीय दलको निर्वाचनको प्रक्रिया पूरा भएको छ । उनले भने अब सभापतिजीको नेतृत्वमा गठबन्धनकै सरकार बन्छ, आजैदेखि त्यसबारे छलफल सुरु हुन्छ ।
Comments