श्रम स्वीकृति शिवसताक्षी नगरपालिकाबाट पनि हुन थाल्योः रोजगार संयोजक तिम्सिना
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृति प्रदान गर्न थालेको छ । नगरपालिकाको रोजगार सेवा केन्द्रले वैदेशिक रोजगारीका लागि आवश्यक पर्ने श्रम स्वीकृति गर्न थालेको हो ।
श्रम स्वीकृतिका लागि कार्यालय बाहिर बस्ने एजेन्टहरुले ठूलो रकम असुल्ने गुनासो अब हट्ने भएको छ । एजेन्टहरुले श्रमका लागि फारम भरेको नै धेरै रकम असुल्ने गरेका थिए । श्रम स्वीकृति सरकारले स्थानीयतहमा नै गर्न मिल्ने गरी अनुमति दिएसँगै धेरै मानिसहरुलाई राहत हुने भएको छ ।
स्थानीयतहमा निशुल्क श्रम स्वीकृतिका लागि फारम भर्न थालेपछि काठमाण्डौ र विराटनगर जानु पर्ने बाध्यता हटेको शिवसताक्षी नगरपालिका रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । उनका अनुसार स्थानीयतहले श्रम स्वीकृतिका लागि फारम भरिदिने काम गर्ने छ । सेवाग्राहीहरुकै आइडी बनाएर फारम भरिदिने हो । उनले भने, यो व्यक्ति आफैले भर्न मिल्ने भएकाले फारम भर्न सिकाइदिने काम पनि गर्दै आएका छौ ।
श्रम स्वीकृतिकालागि अनलाइन फारम भर्नका लागि भिसा लागेको राजदाहनी, बैंंकको चेकबुक र पासपार्ट साइजको फोटो आवश्यक पर्ने संयोजक तिम्सिनाले जानकारी दिए ।
फारम भरेपछि श्रम भएको कोड सम्बन्धित सेवा ग्राहीको मोबाइलमा पठाउँछ र केही समय पछि श्रम प्रमाण पत्र इमेलमा आउने गरेको छ। नगरपालिकाले त्यसरी इमेलमा आएको प्रमाण पत्र प्रिन्ट गरेर दिने सम्मको काम गर्दै आएको शिवसताक्षी नगरपालिकाले जनाएको छ।
यता झापाको विर्तामोड नगरपालिकाले पनि श्रम स्वीकृतिका लागि काम गर्न थालेको छ । विर्तामोड नगरपालिकाले श्रम स्वीकृतिका लागि आएका सेवाग्राहीहरु कसैलाई पनि नर्फाकाइएको रोजगार संयोजक होमनाथ भट्टराईले जानकारी दिए ।
बैशाख १ बाट देशभरका स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको निम्ति फारम भर्ने र स्वीकृति प्रदान गर्न कामको थालनी गरेको थियो ।
Comments