भोजपुरमा बारीबाटै लुटियो २ करोडभन्दा बढीको रद्राक्ष
Published: (Updated: )
by .भोजपुर । षडानन्द नगरपालिका–२, कुदाककाउलेको ताबुमा करोडौं मूल्य बराबरको रुद्राक्ष लुटिएको छ । अज्ञात समूहले शुक्रबार बिहान करिब ५ बजेतिर २ करोडभन्दा बढीको रुद्राक्ष बारीबाटै लुटेको हो ।
लुटेरा ५–७ जनाको समूहमा रहेको बताइएको छ । स्थानीय हिमाल तामाङ र नगरपालिकाका मेयर वीरबल राईले संयक्त रूपमा लगाएको रुद्राक्ष खेती लुटिएको हो । प्रारिम्भक जानकारीअनुसार लुटिएको रद्राक्षको मूल्य २ करोड १५ लाख बराबर रहेको छ ।
रुद्राक्ष खेती हेरचाहका लागि ४ जना हेरालु राखिए पनि लुटेराले उनीहरूलाई कुटपिट गरेर रुद्राक्षका डाला र बोटै काटेर लगेको हेरालु साल्पासिलिछो गाउँपालिका दोभानेका ओमकार थुलुङले बताए ।
लुटेराले सबैभन्दा राम्रो मुखादार र फलेको रुद्राक्ष लुटेको पीडितले बताएका छन् । लुटेराले प्रतिगोटा लाखसम्म पर्ने रुद्राक्षको बोटै काटेर लगेको बताइएको छ । पिटिने हेरालुका अनुसार लुटेरा राइफल र अन्य घरेलु हतियार लिएर आएका थिए ।
कामविशेषले आफू भोजपुर सदरमुकाम गएका बेला रुद्राक्ष लुटिएको मेयर राईले बताए । उनका अनुसार करिब ३ सय रोपनी जग्गामा रुद्राक्ष लगाइको थियो ।
यता, इप्रका दिङ्लाले हतियारसहित आएको अज्ञात समूहले रुद्राक्ष हेर्न बसेका २ जनालाई कुटपिटसमेत गरेको जनाएको छ । इप्रकाका इन्स्पेक्टर सन्जिव ओलीले लुटपाटबारे थप सूचना संकलन र लुटेराको खोजीमा २० जना प्रहरी परिचालन गरिएको बताए ।
Comments