Sajhamanch Archive

यौन उत्पीडन आरोपपछि भारतीय विदेश राज्यमन्त्री एमजे अकबरद्वारा राजीनामा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मिटू अभियानमा यौन उत्पीडनको आरोप लागेका भारतका केन्द्रीय विदेश राज्यमन्त्री तथा पूर्वपत्रकार एमजे अकबरले बुधबार पदबाट राजीनामा दिएका छन्।

अकबरमाथि सञ्चार माध्यममा सँगै काम गर्ने महिलाहरूलाई यौन उत्पीडन गरेको आरोप थियो। यो आरोप लाग्दा उनी नाइजेरिया भ्रमणमा थिए। भारत फर्केपछि उनले राजीनामा दिने अनुमान गरिएको थियो।

आइतबार फर्केका उनले सुरुमा आफूमाथि लागेका आरोप गलत भएको बताए। सोमबार आरोप लगाउने पत्रकार प्रिया रमानीविरुद्ध मानहानी मुद्दा दायर गरे। रमानीले आफ्नो बेइज्जत गर्न जानाजान यस्तो आरोप लगाएको अकबरको भनाइ थियो।

सरकार तर्फबाट कुनै प्रतिक्रिया आएको थिएन। अकबरले सबै आरोप झुटा भएको बताएका थिए। केही अभियन्ताहरूले भने अकबरले राजीनामा दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा सरकारलाई दबाब दिइरहेका थिए। यसै क्रममा बुधबार एक विज्ञप्ति जारी गर्दै अकबरले राजीनामा दिएका हुन्।

‘द हिन्दु’ का अनुसार अकबरले विज्ञप्तिमा भनेका छन्, ‘मैले यो आरोपविरुद्ध व्यक्तिगत रूपमै लड्ने निर्णय गरेको छु। यसकारण पदबाट राजीनामा दिँदै न्यायको निम्ति लड्नेछु।’

‘मलाई मन्त्रीका रूपमा देश सेवा गर्ने मौका दिनुभएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजलाई धन्यवाद दिन चाहन्छु,’ अकबरले विज्ञप्तिमा भनेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *