पर्यटकको गन्तव्य बन्दै, ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाम
Published: (Updated: )
by .शिवसताक्षी । पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम नेपालको ऐतिहासिक धाम मध्ये एक प्रमुख धाम हो ।
झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित पूर्व पश्चिम राजमार्ग अन्तरगत झिलझिले बजारबाट पाँच किलोमिटर उत्तरमा रहेको सताक्षीधाममा पछिल्लो समय आन्तरिक तथा वाहिय पर्यटकको रोजाइको बनेको छ ।
स्थानीयतहको पुर्नसंरचना पछि सताक्षीधाममा धेरै परिवर्तनहरु भएका छन् । सानो क्षेत्रमा पुरानो शैलीमा बनेको सताक्षीधामको यतिबेला आमुल परिवर्तन भएको छ । सताक्षीधाम झापाको मूख्य तीर्थ स्थल बन्न सफल भएको धाममा आउने भक्तजनहरु बताउँछन् । शिवसताक्षी नगरपालिकाले धाम विकासका लागि धेरै बजेट लगाउँदै आएको छ । सरकारले धार्मिक क्षेत्रमा लगानी गरेसँगै पाँच वर्षमामा उल्लेख्य काम गर्न सफल भएको सताक्षीधाम स्थित श्री शताक्षी गुरुकुल विद्यालयका प्राचार्य मदन मोहन अधिकारीले बताउँछन् ।
शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राका अनुसार सताक्षीधाम शिवसताक्षीका त्रिधाम मध्ये विकसित धामको रुपमा नगरले काम गरेको छ । नगरपालिकाले उक्त धामलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएको र जसमा सबै धर्मालम्बीहरुको साझा अपन्नत्व हुने गरी बौद्ध, किराँत र हिन्दु धार्मलम्बीहरुले आ–आफ्ना मन्दिरहरु निर्माण गर्दा धामलाई साझा धार्मिक गन्तव्यको रुपमा विकास हुँदै आएको नगर प्रमुख थोप्राको भनाई छ ।
हालै मात्र दाताहरुको सहयोगमा २५ फिटको शिवको मूर्ती निर्माण गरी राखिएको छ । जसले सताक्षीधाममा अझ सुन्दर बनाउन सहयोग भएको गोलोक गोर्बद्धन गौशालाका अध्यक्ष तथा संरक्षक नन्द किशोर भारद्वजले जानकारी दिए । यो एउटा धार्मिक क्षेत्रको यसका विकास सरकार र दाताहरुबाटै हुन्छ, उनले भने, हामी यस क्षेत्रलाई भारतको बृद्धाबनको स्वरुपमा विकास गर्दै आएका छौ । उनले भने, सताक्षीधाम नेपालमा पहिलो यस्तो धाम हो, जसधाममा दर्शन गर्न आउँदा कृष्णले चराएका गाईहरुको दर्शन गर्न पाइन्छ । गाई भनेकी माता हुन् । यसको संरक्षण सम्वद्र्धन सताक्षीधाममा गरिन्छ ।
सताक्षीधाममा पर्यटन विकास समितिले दर्शन गर्न आउने भक्तजनहरुको लागि शौचालय निर्माण गरिएको छ । सताक्षीधामको पुरानो शिवको मन्दिरमा गजुर लगाउने काम भएको, विभिन्न मन्दिरहरुमा रगंरोगन, चौतारा निर्माण गरिएको सताक्षीधाम पर्यटन विकास समितिका अध्यक्ष तुलाराम बोखिमले जानकारी दिए ।
४१ विगाह जमिनमा फैलिएको सताक्षीधाममा विभिन्न देवि देवताहरूको सुन्दर मुर्ती, मठमन्दिरहरु रहेका छन। यहाँ द्वादश ज्योतिर्लिंङ (शिव मन्दिर), हनुमान, गणेश,पञ्चमुखी, गायत्री माताको आकर्षक मूर्ति निर्माण गरिएको छ भने हालै थप नयाँ तिलाश्री सर्वेश्वर शालिग्राम स्वर्णिम दिब्य देवालय ,श्रीदिगम्बर किराँतेश्वर महादेवको विग्रह, मेनकातीर्थ गजेन्द्रमोक्ष स्थलको निर्माण भईरहेको छ ।
सयौं गोमाता र नन्दीहरुलाई गौसेवा प्रदान गरिरहेको गौशाला सताक्षीधामको अर्को सुन्दर पक्ष हो। वि.स. २०७१ साल चैत्रबाट आचार्य नन्द किशोर भारद्वाज महाराजले सताक्षी धाम नजिकै श्री गोलोक गोवर्धन गौशाला स्थापना गरेका थिए । सताक्षीधाम क्षेत्रमा वैदिक शिक्षाका लागि श्री शताक्षी गुरुकुल विद्यालय र अतिथि अभ्यागत र ब्राह्मण भोजनका लागि भोजानलयको निमार्ण गरिएको छ।
सताक्षी नदीको शिरमा निर्मल जल प्रवाह गर्ने सुन्दर झर्ना रहेको छ। सताक्षी देवीको मन्दिरबाट केही मिटर अगाडि गन्धक जल (विरेनुन पानी) पाउन सकिन्छ । जसको सेवन मात्रले धेरै पेटको रोग निको हुने विश्वास लिने गरिन्छ । सताक्षीधाम क्षेत्र भित्र किँरात धर्मावलम्बीहरूको पवित्र स्थल मानिने तेमेनलुम किरात माङ्हिम समेत रहेको छ । यसले धार्मिक सहिष्णुता तथा सांस्कृतिक सद्भाव झल्काएको छ ।
सताक्षीधाम धार्मिक दृष्टिकोणले जति धनी छ यो प्राकृतिक सुन्दरातामा त्यतीकै मनमोहक छ। प्रकृतिको काखमा लोटपोट सतासीधाम धार्मिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण छ। सताक्षीधाम पुग्न राजमार्गबाट वनै वनको बीचबाट गरिने पाँच किलोमिटरको यात्रा आफैमा मनलाई शितलता प्रदान गर्ने प्रकारको छ।
सताक्षीधामको उत्पती र किंवदन्ती
सताक्षीधामको उत्पत्ति वा नामकरणको वारेमा विभिन्न किंवदन्तीहरू पाइएको छ किराती लिम्बु राजाले भारतको तेजपुरबाट ८७ जना ऋषिमुनीहरूलाई ल्या पहाड जाने क्रममा पहाडको जाडो ठाउँमा पुग्न गाह्रो भएकोले गुरुहरूले यसै क्षेत्र वरपरका गुफाहरूमा वसेर देवीको तपस्या गरे । त्यसपश्चात तिनै ८७ जना ऋषिमुनीहरूको नामबाट सताक्षीधाम नाम रहन गएको हो भन्ने मान्यता रहेको पाइन्छ ।
मार्कण्डेय पुराण सती चण्डीमा उल्लेख भए अनुसार एक समय जब धर्तीमा दुष्कर्म र असुरी प्रवृत्ति बढ्यो देविदेवताहरु क्रोधित भएर सयौं वर्षसम्म वर्षा भएन ।
बालीनाली उब्जनी हुन छोड्यो र जगत्तै संकटमा परेपछि ऋषिमुनीहरूले परम्बा भगवती दुर्गा देवीको शरणमा गई आरधाना गरे । भगवती देवी प्रसन्न भइ सयौ नेत्र धारण गरी ऋषिमुनीहरूलाई दर्शन दिए । ती सयौ नेत्रहरूबाट विशाल निर्मल जलको धारा पृथ्वीमा बग्न थाल्यो । यसरी घर्तीमा उत्पन्न संकटको समाधान भएपछि शत अक्षी (९ सय आँखा) भएको सताक्षी देवी र त्यही नामले सताक्षी नदी नामकरण हुँदै यो क्षेत्र सतासीधामको रूपमा प्रसिद्ध भयो भनेको पनि देख्न सकिन्छ ।
पौराणिक र ऐतहासिक मान्यता अनुसार पाण्डवहरूले एक वर्ष गुप्तवास वस्नका लागि विभिन्न भेष धारण गरी विराट राजाको दरवार जानुपूर्व सताक्षीधाम क्षेत्रमा आफ्नो शस्त्र अस्त्रहरू राखेका थिए । सय आखाँ भएकी सताक्षी देवीले विराट राजाको दरबारमा भेष बदली जानु भनेर सफल गुप्तवासको शुभकामना दिएको विभिन्न पुराणहरुमा उल्लेख छ ।
रमिते डाँडा भ्यू पइन्ट सेल्फी रोड
पछिल्लो समयमा निमार्ण भएको कालो पत्रे सडक, वरीपरि रंगरोगन गरिएको रूखहरूले नयाँ पुस्तालाई घुमघाम सेल्फी खिच्न अझ आकर्षण गरेको छ। युवा अभियान्ता डायमण्ड कार्कीको अगुवाइमा रमिते डाँडा देखि दक्षिण र उत्तरमा रंगरोगन लगाएर रमिते डाँडालाई सेल्फी रोडको रूपमा विकास गर्दा सताक्षीधाम अझ चिटिक्क देखिएको छ।
प्रकृतिले दिएको चीजलाई थप आधुनिकतासँग जोडेर सुन्दर बनाउँदा पर्यटकको ध्यान खिच्न सकिने भएको छ। रमिते डाँडामा बसेर शितल हावाको आनन्द लिदै बस्ने मानिसको भिड दिन दिनै बढीरहेको छ । सेल्फी भ्यु पइटमा सेल्फी खिच्न, भिडियो सुट र टिकटक बनाउनेहरुको भीड लाग्ने गर्दछ । यसले सताक्षीधाममा आउने पर्यटकको संख्या बृद्धि भएको देख्न सकिन्छ।
नेपाल धार्मिक तथा प्राकृतिक हिसाबले धनी देश हो। धार्मिक पर्यटन नेपालको आर्थिक विकासको मेरोदण्ड हो। त्ररीधाम दोमुखा, चिल्लागढ र सताक्षीधाम रहेको शिवसताक्षी नगरपालिका धार्मिक तथा ऐतिहासिक हिसावले अगाडि छ। यसलाई राज्यले पहिचान गरी थप संरचनाको विकास,प्रचार प्रसार गर्ने सक्न सके यो आन्तरिक आय स्रोतको एक मुल खम्बा बन्न सक्छ ।
प्रशिक्षार्थी बिजय खुदाङ
Comments