Sajhamanch Archive

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको तीन महिनापछि भेटी गनिँदै

Published: in अर्थतन्त्र by .

ताप्लेजुङ ।  पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी तीन महिनापछि गन्न थालिएको छ  । जिल्ला समन्वय समितिको कोठामा साउनदेखि असोजसम्मको भेटी राखिएको थियो  ।

ताप्लेजुङको पाथीभरामा संकलित भेटी गणना गर्दै जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन । अहिले मादेनको संयोजकत्वमा भेटी व्यवस्थापन समिति गठन गरिएको छ ।

नगद राख्ने कोठामा क्यामेरा जडान गरिएको छ । पहिलोपटक सीसी क्यामेराको निगरानीमा भेटी गन्न सुरु भएको हो । मन्दिरमा संकलित रकम सदरमुकाम फुङलिङमा ल्याएर गणना गरिएको हो ।

जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन भेटी व्यवस्थापन समितिको संयोजक भएपछि मन्वयको कार्यालयमा पैसा सारिएको हो । यसअघिसम्म पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिको कार्यालयमा राखिँदै आएको थियो ।

मंगलबारदेखि मादेन स्वयंसहित १३ जनाको समूहले गणना सुरु गरेको हो । गणनामा पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी, जिल्ला समन्वय समितिका कर्मचारी सम्मिलित छन् ।पहिलो चरणमा एक हजार, पाँच सय र भारु पैसा छुट्याएको मादेनले बताए ।

भारु पैसा रङ लागे वा पानीले भिजेको भए सटहीमा समस्या हुने भएकाले पहिला छुट्याइएको हो । नेपाली पैसा पनि रङ नलगाउन, केरमेट नगर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।ठूला नोट छुट्याएपछि २०, १० र ५ का नोट मिलाउने र गणना गर्ने पाथीभरा क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपानेले बताए ।

समितिले माथिल्लो फेदीबाट बोरामा लगाएर पैसा सदरमुकाम ल्याएको थियो । पाथीभरा मन्दिरमा भने त्यहाँ खटाइएका कर्मचारी र प्रहरीले संकलन गरेर माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरेका छन । प्रत्येक दिनको नोट पैसा फेदीसम्म ल्याइन्छ । सिक्का पैसा भने मन्दिरकै गोदाममा राखिन्छ ।

तीर्थयात्रीले स्टिच पिन लगाएर पैसाको माला बनाएर पनि चढाएका छन । कतिपयले हजार/हजार र पाँच सय रुपैयाँको एक मुष्ट पैसा चढाएको पाइएको न्यौपानेले बताए । सबैभन्दा बढी एकै जनाले ९ हजार ५ सय रुपैयाँ रबरले बाँधेर चढाएको भेटिएको थियो ।

साना पैसाको मुठा त धेरै भेटिएको थियो ।
अधिक तीर्थयात्री आउने दसैं–तिहार अघि र पछिको समयमा रकम पनि धेरै जम्मा हुने गरेको छ । अघिल्ला वर्षको तथ्यांक अनुसार दसैंको सिजनमा २० देखि ३० लाखको हाराहारीमा भेटी संकलन हुन्छ । चैते दसैंको सिजनमा पनि धेरै संकलन हुने गरेको छ ।

संकलित भेटीको रकम यही क्षेत्रको विकासमा खर्च गरिँंदै आएको छ ।मन्दिर जाने पैदल मार्ग बनाउने, मन्दिर परिसर फराकिलो पार्ने, थप संरचना निर्माण गर्नेजस्ता काम हुँदै आएका छन् । यो वर्ष भेटीकै रकम लगाएर मोटरबाटोसमेत स्तरोन्नति गरिएको छ ।

सुकेटारदेखि काफ्लेपार्टीसम्मको १२ किलोमिटर सडक मर्मत गर्न १२ जना सडक हेरालु, स्काइभेटर मेसिन, टयाक्टर राखेर खाल्टाखुल्टी भर्ने, पानी जम्न नदिने काम गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *