शिक्षककै आदेशमा विद्यालयमा तोडफोड
Published:
by .कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–४ स्थित रामचन्द्र आधारभूत विद्यालय एक शिक्षकको आदेशमा स्थानीयले तोडफोड गरेको खुलासा भएको छ ।
तोडफोड गर्ने स्थानीय पदमबहादुर सहकारी भने पक्राउ परेका छन् । गत बिहीबार राति विद्यालय तोडफोड भएपछि विद्यालयका प्रधानाध्यापक धनबहादुर सहकारीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले अनुसन्धानका आधारमा विद्यालय तोडफोडमा संलग्न पदमबहादुरलाई पक्राउ गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार सोही विद्यालयका शिक्षक जयबहादुर सहकारीको आदेशमा स्थानीय पदमबहादुरले विद्यालय तोडफोड गरेका हुन् ।
प्रहरीले उनीहरु दुबैलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको बताएको छ । बुधबार भने स्थानीय पदमबहादुर पक्राउ परेको प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लले बताए ।
स्थानीय सरकार गठन भइसकेपछि गाउँपालिकाले प्रधानाध्यापक पदबाट धनबहादुर सहकारीलाई हटाएर जयबहादुर सहकारीलाई प्रधानाध्यापक बनाएपछि उनले उच्च अदालत जुम्लामा मुद्दा दायर गरेका थिए ।
उच्च अदालतबाट मुद्दा जितेर प्रधानाध्यापक पदमा धनबहादुर सहकारी नै वहाल भएपछि प्रअबाट हट्नुपरेको झोँकमा शिक्षक जयबहादुर सहकारीले पदमबहादुुर सहकारीलाई विद्यालय तोडफोड गर्न लगाएको खुलेको हो ।
यस क्रममा विद्यार्थी भर्ना फाइल, हाजिरी रजिस्टर, शिक्षक व्यक्तिगत फाइल, विद्यार्थी निरन्तर मुल्यांकन फाइल, दर्ता चलानी रजिस्टर, निरिक्षण पुस्तिका, विद्यार्थी लब्धांकपत्र लगायत अन्य बील भरपाई हराएको बताइएको छ ।
Comments