Sajhamanch Archive

बिटक्वाइन कारोबार नेपालमा सुस्त

Published: in अर्थतन्त्र by .

काठमाडौं । पछिल्लो समय नेपालमा बुझी–नबुझी बिट क्वाइन (क्रिप्टोकरेन्सी)मा लगानी गर्नेहरुको संख्या ह्वात्तै बढ्यो । सरकारले त्यसमा नियमन र खोजबिन गर्न सकेन वा चाहेन ।

त्यसो हुँदा कतिपय लगानीकर्ताले रकम डुबाए भने केही त्यसबाट लाभान्वित पनि भए । हालका केही महिना नेपालमा बिटक्वाइन सुषुप्त रहेको देखिन्छ । छिमेकी भारतले त बिटक्वाइन ट्रेडिङलाई अपराध नै मानेको छ । चीनले पनि यस्तो व्यापारलाई बन्द गरिदिएको छ । तर, नेपालमा भने यस्तो अभौतिक मुद्रामा गरिने अदृश्य लगानीबारे अन्योल कायम छ ।

उता, दुनियाँका कतिपय मुलुकमा बिटक्वाइनमा लगानी तीव्र गतिमा बढिरहेको छ । विश्लेषकहरु यस्तो लगानी अझै बढ्ने अनुमान गरिरहेका छन् । बिटक्वाइनमा लगानी गर्ने धनी मान्छेहरु यस्ताखालका छन्, जो आफ्नो पुँजीलाई तीव्र गतिमा बढाउन चाहन्छन् । यद्यपि, यस्तो अभौतिक मुद्राका माध्यमबाट अर्थात् अनलाइन करेन्सीको प्रयोगबाट गरिने ट्रेडिङ सधैं खतरायुक्त हुन सक्छ ।

सन् २००९ जनवरीमा सुरु भएको मानिएको बिटक्वाइनको मूल्य लगातार बढिरहेको छ । एउटा निश्चित समयमा बिटक्वाइनको मूल्य संसारभर समान हुने भएकाले यस्तो व्यापार बढ्न गएको हो । सेयरमूल्यमा जस्तै बिटक्वाइनको भाउ पनि घट्ने–बढ्ने भइरहन्छ । यस्तो व्यापारको नियन्त्रण कसले गर्ने, केही गडबडी भयो भने कहाँ उजुरी गर्ने भन्नेजस्ता कुरामा अन्योल बढ्दो छ । सेयरबजारमा जस्तो बिटक्वाइनको कारोबार गर्ने निश्चित समय र दिन हुँदैन । जुनसुकै दिन वा समय यसको कारोबार भइरहेको हुन्छ । यसकारण पनि यसको मूल्यमा उतारचढाव छिटोछिटो भइरहेको देखिन्छ ।

क्राकेन (केआरएकेईएन)का माध्यमबाट बिटक्वाइन ट्रेडिङ गर्न सकिन्छ । यसका लागि सर्वप्रथम आफ्नो एकाउन्ट बनाउनुपर्छ । एकाउन्ट भेरिफाइ भइसकेपछि टे«डिङ मेथड चयन गर्न पाइन्छ । टे«डिङ गर्न त्यहाँ तालिका (चार्ट) उपलब्ध हुन्छ र त्यसमा बिटक्वाइनको मूल्यबारे जानकारीहरु समावेश गरिएको हुन्छ । एउटा निश्चित समयमा बिटक्वाइनको आदेश (अर्डर) दिएर खरिद–बिक्री गर्न सकिन्छ ।

लगानीकर्ताले बिर्सन के हुँदैन भने, बिटक्वाइनको मूल्यमा तीव्र गतिमा उतारचढाव भइरहने हुनाले खतरा भइरहन्छ । कतिपय देशमा यसको नियमन गर्ने निकायको स्थापना भएको सुरक्षित लगानीको क्षेत्र बन्ने विश्वाससमेत गरिएको छ । सन् २०१७ मा ९९८ अमेरिकी डलरबाट सुरु भएको बिटक्वाइनको मूल्य २०१८ को जनवरीको पहिलो दिनमा १३,४१२.४४ सम्म पुग्यो ।
(एजेन्सीको सहयोगमा)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *