उदयपुरको मूर्तिखोलामा भेटियो गोही
Published:
by .उदयपुर । माछा मार्ने क्रममा उदयपुरको एक खोलामा गोही भेटिएको छ। बेलका नगरपालिका–३ मा रहेको मुर्तिखोलामा गोही भेटिएको हो।
पाँच फिट तीन इन्च लम्बाइ र दुई फिट मोटाइको गोही स्थानीयहरुले माछा मार्ने क्रममा फेला पारेका थिए। गोही फेला परेपछि उनीहरुले इलाका प्रहरी कार्यालयलाई जानकारी दिएको थिए। ‘गोही भेटिएको जानकारी आएलगतै उद्धार गरी डिभिजन वन कार्यालयलाई जिम्मा लगाएका छौं,’ इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नवीन सिंहले भने, ‘खोलामा गोही भेटिएको वन्यजन्तु संरक्षण गर्ने कार्य वन कार्यालयको भएकाले डिभिजन वन कार्यालयलाई जिम्मा लगाएका हौं।’
गोहीको घाँटीमा चोट लागेकाले उपचार गर्नु पर्ने प्रहरी निरिक्षक सिंहले बताए। घाइते गोही कोसी टप्पु वन्य जन्तु आरक्षमा जिम्मा लगाइने डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए। ‘घाइते नभएको भए कोसीकै सानो भँगालोमा छाड्ने थियौं तर गोहीको शरीरमा चोट भएकाले आरक्षलाई सम्पेका छौं,’ उनले भने, ‘कोसी टप्पु आरक्षमा केही महिना घाइते गोहीको उपचार गरेर निको भएपछि प्राकृतिक रुपमा छाडिने छ।’
घाइते गोही कोसी नदी हुँदै मुर्तिखोलासम्म आइपुगेको हुनसक्ने वन कार्यालयको अनुमान छ। उदयपुरको पूर्व क्षेत्रमा पर्ने वन क्षेत्रमा कहिले ठूला दुर्लभ अजिङगर, सालक लगायतका वन्जयजन्तु भेटिने गरेको छ।
Comments