९६ वर्षीया महिलाले साक्षरता परीक्षामा ल्याइन् सयमा ९८ अंक
Published:
by .केरल । भारतको केरल राज्यमा ९६ वर्षीया एक महिलाले साक्षरता परीक्षामा १०० मा ९८ अंक ल्याएर रोचक कीर्तिमान बनाएकी छन् । केरल सरकारले ‘अक्षरालक्ष्यम’ साक्षरता अभियान चलाइरहेका बेला वृद्धाको यो सफलता प्रेरणादायी भएको छ ।
कर्त्यायनीअम्मा यस साक्षरता परीक्षामा सामेल हुने सबैभन्दा वृद्धा पनि हुन् । परीक्षा दिँदै गरेको कर्तयायनीको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
भारतीय अनलाइन द हिन्दुका अनुसार कर्त्यायनी १० अगस्ट पुरै राज्यभर भएको यस परीक्षामा सहभागी भएकी थिइन् । हालै मात्र यसको नतिजा बाहिरिएको छ। यसमा ४३,३३० परीक्षार्थी सहभागी थिए । जसमा ९९.०८ प्रतिशत अर्थात् ४२९३३ पास भए। कर्त्यायनीलार्इ यही बिहीबार त्यहाँका मुख्यमन्त्री पिनराई विजयनले सम्मान गर्दैछन् ।
गणित र बाचनमा पुरै अंक
परीक्षा तीन वर्गमा हुने गरेको छ। यसमा लेखन, बाचन र गणित सामेल छन् । कर्त्यायनीलार्इ लेखनतर्फ ४० मा ३८ अंक मिलेको छ । अर्कातिर बाचन र गणितमा उनलार्इ पुरै अंक मिलेको छ।
यो सफलतापछि उनले १०० वर्ष पुग्दा १० कक्षाको समकक्ष परीक्षा पास गर्ने लक्ष्य लिएकी छन् । कर्त्यायनीका अनुसार उनले परीक्षाको राम्रो तयारी गरेकी थिइन् । यसैले प्रश्नपत्र सजिलै हल गर्न सफल भइन् । उनले १०० वर्षको उमेरमा १० कक्षाको समकक्ष परीक्षा पास गर्ने धोको रहेको सुनाइन् ।
निरक्षरता समाप्ति अभियान
केरल सरकारले यस वर्ष गणतन्त्र दिवसमा ‘अक्षरालक्ष्यम’ साक्षरता अभियान थालेको थियो । यसको उद्धेश्य राज्यमा साक्षरता दर बढाउनु रहेको छ । यस अभियानका क्रममा राज्यमा २१ हजार ९०८ वार्डमा २,०८६ सिकाइ केन्द्र खोलिएको छ । सरकारले अबको चार सालमा राज्यका सबै १८.५ लाख निरक्षरलार्इ साक्षर बनाउने अभियान थालिसकेको छ ।
Comments