Sajhamanch Archive

नेपालकै ठूलो सिमेण्ट उद्योगसँग सरकारले गरेको सहमति पालना भएन

Published: in अर्थतन्त्र by .

नवलपरासी । सरकारले होङ्सी शिवम् सिमेण्ट उद्योगसँग गरेको सम्झौता उत्पादन सुरु भइसक्दा पनि पुरा गर्न सकेको छैन ।

बैदेशिक लगानी भित्र्याउने ठुलो महत्वकाक्षा सरकारले बोकेको भएपनि लगानी सम्झौता भई उत्पादन नै सुरु गरिसकेको नवलपरासीको सर्दीखोलास्थित होङ्सी शिवम् सिमेण्ट उद्योगसंगको भौतिक संरचना निर्माण सम्बन्धी सम्झौता अझै पुरा नगरेको हो ।

नेपालमा सञ्चालन भएका सिमेण्ट उद्योगमध्ये यो उद्योग सबैभन्दा ठुलो लगानीको र स्वचालित रुपमा सिमेण्ट उत्पादन गर्ने उद्योग भएको बताइएको छ  । जहाँ सिमेण्ट उत्पादनका सम्पुर्ण प्रक्रिया पुर्णप्रविधि (फुल अटोमेटिक) प्रणालीबाट गरिन्छ । वैदेशिक लगानी स्वीकृत गर्दाको समयमा सरकारले यो उद्योगसँगको विद्युत् प्रशारण लाईन २४ महिना भित्र बनाईदिने र मुख्य राजमार्ग देखि उद्योग र उद्योग देखि खानीसम्मको बाटो पीच गर्ने सहमति गरेको थियो । तर, यी दुवै काम अहिलेसम्म हुन सकेका छैनन् ।

विद्युत् प्रशारण लाईन नबन्दा उत्पादन लागत बढेको कम्पनीको गुनासो छ । सक्दो छिटो सरकारले विद्युत् प्रशारण लाईन र बाटोको काम सम्पन्न गरेमा उत्पादन लागत कम हुने कम्पनीका सहायक प्रवन्ध निर्देशक गौरव गोयलको भनाई छ ।

सरकारले मुख्य राजमार्ग देखि कम्पनी सम्मको १२ किलोमिटर र खानी सम्म पुग्ने २८ किलोमिटर सडक पीच गरिदिने सहमति गरेको थियो । पुर्वपश्चिम राजमार्गको नवलपरासीको दुम्कीबास देखि उद्योगसम्म १२ किलोमिटर र उद्योग देखि २८ किलोमिटरको दुरीमा पाल्पाको भुकेटमा चुनखानी रहेको छ ।

खानी भएको स्थानको मगर बस्तीलाई उद्योगले सर्दीबगैचा नजिक वेनी त्रिवेणी गाउपालिकाको वडा नम्बर ४ मा सारेको छ । उद्योगले त्यहा स्थित २६ परिवारलाई सो स्थानमा घर घडेरी सहित समान क्षेत्रफलको जग्गा उपलब्ध गराएको हो । उद्योगले सबै परिवारलाई प्रतिपरिवार ४ कोठे पक्कि ढलान घर उपलब्ध गराएको छ । उद्योगको व्यवस्थापनबाट विस्थापितहरु सन्तुष्ट रहेको पाल्पाका देवबहादुर सारु मगर र होम बहादुर सारु मगरले बताए ।

३६ अर्बको लगानीमा निर्माण गरिएको उद्योगले धुँवा धुलो कम गर्दै हरियाली वातावरण निर्माणका लागि मात्रै ठुलो बजेट खर्च गरेको छ । ७६ हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्योगले प्रविधिबाट नै प्रदुषण कम गरिरहेको छ । कम्पनीका अनुसार वातावरण बिग्रन नदिन ग्रिन बजेट शिर्षकमा ३ अर्ब रुपैया प्रविधिका लागि मात्रै खर्च गरिएको छ ।

उद्योगले सिमेण्ट उत्पादन हुँदा उत्पन्न हुने धुलोबाट बिजुली उत्पादन गरेको छ । उद्योगमा चिनिया कम्पनी होङ्सी होल्डिङले ७० र नेपालको शिवम् सिमेन्टले ३० प्रतिशत लगानी रहेको छ । उद्योगले हाल दैनिक ६ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । पुर्ण क्षमतामा उत्पादन सुरु गर्ने हो भने दैनिक १२ हजार मेट्रिक टन सिमेण्ट उत्पादन हुने उद्योगले जनाएको छ ।

धुँवा धुलो रहित अत्याधुनिक प्रविधियुक्त ठुलो लगानीको यस कम्पनीसंगको भौतिक पुर्वाधार निर्माण सम्बन्धी सम्झौता समयमै पुरा हुन नसक्नुले थप बैदेशिक लगानीलाई निरुत्साहीत गर्ने देखिन्छ ।

रातोपाटी 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *