Sajhamanch Archive

मानसिक समस्यामा महिला बढी जोखिम

Published: (Updated: ) in स्वास्थ्य by .

काठमाडौं । अनामनगरकी अञ्जना सापकोटा (नाम परिवर्तन) २५ वर्षीया विवाहित महिला हुन् । उनी मिलनसार स्वाभावकी थिइन् । एकदिन डेरामा बस्ने एक पुरुषसँग उनको भनाभन भएको थियो । उनले त्यो कुरा सामान्यरुपमा लिन सकिनन् । यसको कारण मानसिक तनावले उनको दैनिक जीवनमा निकै परिवर्तन आयो । त्यही मान्छेलाई बारम्बार देख्ने, त्यो मान्छेले कराएजस्तो लाग्ने, एकोहोरो टोलाउनेलगायतका समस्या देखिए । उनका श्रीमानले बारम्बार के भयो भनेर सोध्दा उनी केहि बोल्दिनथिइन् ।

उनलाई धामीझाँक्रीकहाँ लैजाने, देउता भाक्ने कामहरु पनि भए । तर उनीमा आएका समस्या निको भएन । अन्त्यमा केहीगरी ठिक नभएपछि उनलाई श्रीमानले मानसिक अस्पताल लगे । अहिले उनले नियमित औषधी सेवन गरिरहेकी छन् ।

वैदेशिक रोजगारीमा साउदी गएर आएका करिब २५ वर्षका एक युवालाई उनका अभिभावकले मार्क नेपाल सेवा केन्द्रमा ल्याए । ती युवा केन्द्रमा आउँदा एकोहोरो टोलाउने  र  एउटै कुरा बारम्बार दोहोर्याउने समस्या रहेको भन्दै उनका अभिभावकले लिएर आएका थिए । उपचारको क्रममा उनी कडा खालको मानसिक रोगबाट पीडित भएको पत्ता लागेको मनोचिकित्सक गोपाल ढकाल बताउँछन् ।

लामो समयको परामर्शसँगै नियमित औषधी सेवन गरेर अहिले ति युवा पुर्णरुपमा ठिक भएको मनोचिकित्सक ढकाल बताउँछन् । वैदेशिक रोजगारीमा गएका युवायुवती, कलेज तथा क्याम्पस पढ्ने युवायुवतीमा पछिल्लो समय बढी मानसिक रोग देखापर्ने गरेको छ ।
“नेपालमा वैदेशिक रोजगारीका कारण पनि धेरै खालका मानसिक समस्या बढेका छन्,” उनले भने, “पढाइ सकिसक्यो तर जागिर नपाउँदा पनि मानसिक रोगको पीडित हुने गरेका छन् ।”

सर्लाहीकी २२ वर्षकी एक विवाहित महिलालाई टाउको दुख्ने, एकोहोरो टोलाउने, नबोल्ने समस्या देखियो । उनले यस्तो समस्या श्रीमानलाई भन्दा उनले छोड्ने हुन्की भन्ने डरले भनिनन् । उनका श्रीमानले पनि समस्याको बारेमा खासै वास्ता गरेनन् । उनीमा देखिएको समस्या झनै बढ्दै गयो । उनका श्रीमानले थाहा पाए ।

त्यसपछि उनलाई धामीझाँक्रीकहाँ लगे । तर उनमा देखिएको समस्या निको भएन । श्रीमानले उनलाई त्रिवि शिक्षण अस्पतालको मानसिक विभागमा लिएर गए ।

उनमा उपचार गर्दा कडा प्रकारको मानसिक रोग रहेको पत्ता लागेको मनोचिकित्सक डा. सरोज ओझा बताउँछन् । “ती महिलालाई धामीझाँक्रीकहाँ नलगी अस्पताल लगेको भए समयमै उनको उपचार भइसक्थ्यो,” डा. ओझा भन्छन्, “यस्ता बिरामीहरु चेतना अभाव हुँदा समयमै अस्पताल जाँदैनन् । अस्पताल अन्तिम अवस्थामा कडा प्रकारको मानसिक समस्या देखिएपछि मात्र आउने गरेका छन् ।”

आफ्नो छोराछोरीले असामान्य व्यवहार देखाइरहेका छन् कि छैनन् भन्ने कुरा अभिभावकले नै ध्यान दिनुपर्ने उनले बताए । समयमा उपचार नहुँदा सामान्य समस्यासमेत कडा खालका मानसिक रोगमा परिवर्तन भई आत्महत्यासमेत गरिरहेका मनोचिकित्सकहरु बताउँछन् ।
नेपालमा करिब ६० देखि ७० लाख मानिस मानसिक रोगको कुनै न कुनै समस्यामा रहेको मनोचिकित्सकहरु बताउँछन् । राजधानीको विभिन्न अस्पतालको मानसिक विभाग र मनोपरामर्श केन्द्रमा उपचारका लागि आउनेमा बढी युवाहरु नै रहेका छन् ।
नेपालमा पाँच युवायुवतीमध्ये एकजनामा मानसिक समस्या हुनसक्ने मनोचिकित्सक डा. बासुदेव कार्की बताउँछन् ।

“नेपालमा मात्रै नभएर धेरै विकासोन्मुख देशमा मानसिक रोगीको संख्या बढ्दै गएको पाइएको छ,” उनले भने, “सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा यस्ता रोगका बिरामीहरुलाई उपचार हुन्छ भन्ने जानकारी नै नहुँदा रोग पालेर बसिरहेका छन् ।”
इन्टरनेट तथा प्रविधिको बढ्दो प्रयोगले पनि धेरै खालका मानसिक समस्या बढाएको छ । भूकम्पका समयमा भएका क्षतिले पनि धेरैमा मानसिक समस्या बढेको मनोचिकित्सक डा. कार्की बताउँछन् ।

साधारण कुरालाई असाधारण मानेर चिन्ता गरिरहँदा त्यही समस्याले विकराल रुप लिने मनोचिकित्सक डा. ओझा बताउँछन् । उनले भने, “सानो समस्या हो भनेर बुझ्ने र समयमै उपचार गर्न आम नागरिकलाई बुझाउन सकेमा मानसिक रोगबाट बच्न सकिन्छ । महिनावारीको गडबडी, गर्भवतीको समयमा सुत्केरी र त्यसको पीडा सहन नसक्दा र त्यो अवस्थामा मानसिक समस्या देखिन सक्छ ।”

मानसिक रोग नियन्त्रण गर्न वा लाग्न नदिनका लागि निद्रामा विशेष ध्यान दिनुपर्ने मनोचिकित्कहरु बताउँछन् । व्यक्ति ६ देखि ८ घन्टा सुत्नैपर्ने हुन्छ । साथै  धुमपान तथा मद्यपान नगर्ने यदि तनाव उत्पन्न भएमा परिवार वा साथीभाइसँग सेयर गर्नाले पनि यसलाई धेरै कम गर्न सकिने मनोचिकित्सक डा. कार्की बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *