Sajhamanch Archive

सेयर कारोबार पूर्ण अनलाइन : यसरी हुन्छ कारोबार

Published: in अर्थतन्त्र by .

काठमाडौं । लामो समयदेखि चर्चाको विषय बनेको पूर्ण स्वचालित सेयर कारोबार सुरु भएको छ । आज (मंगलबार) आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन सेयर कारोबारको उद्घाटन गरे ।

अब लगानीकर्ताले घरमै बसेर सेयर खरिदबिक्रीको आदेश दिन सक्ने भएका छन् । जसअनुसार लगानीकर्ताले कम्प्युटर र मोबाइलबाटै युजरनेम र पासवर्ड राखेर लगइन गर्नुपर्छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यूएटी परीक्षणको सबै प्रक्रिया सम्पन्न भएको र नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पनि अनुमति प्राप्त भइसकेको छ ।

यसअघि वाइको इन्टरनेसनलले तयार पारेको सफ्टवेयरबाट मक ट्रेडिङ पनि सम्पन्न भइसकेको छ । मक ट्रेडिङमा सफ्टवेयरमा देखिएका समस्या समाधान पनि भइसकेको छ ।

नेप्सेले अनलाइन सेयर कारोबार प्रणाली कार्यान्वयनमा ल्याएर विश्वस्तरीय दोस्रो बजार सेवा प्रदान गर्न लागेको जनाएको छ ।

नेप्से अनलाइन प्रणालीमा गएपनि लगानीकर्ता अभ्यस्त नहुञ्जेलसम्म नयाँ अनलाइन प्रणाली र हाल कारोबार भइरहेको प्रणाली दुवै सञ्चालन गरिने नेप्सेको योजना छ ।

यता, नेप्से अनलाइनमा जाने कार्यक्रम ढिलाइ भएको कुरा सुनिने गरेपनि लगानीकर्ताले पूर्वनिर्धारित समयमै घरमै बसेर सेयर खरिदबिक्रीको आदेश दिन सक्ने भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउँछन् ।

बाह्रखरीसँग कुरा गर्दै उनले भने, “२०७४ वैशाखमा सफ्टवेयर निर्माणकर्ता कम्पनीले १४ महिनामा सफ्टवेयर तयार पार्ने सम्झौता गरेको थियो ।

उक्त कम्पनीले समयमै सफ्टवेयर निर्माण गरेको थियो । त्यसयता सरोकारवालाले समयमै अनलाइन ट्रेडिङ नआउला कि भनेर शंका गरेका थिए । तर, सबैको शंकाको घेरा चिर्दै हामीले अनलाइन ट्रेडिङ कार्यान्वयनमा ल्यायौं ।”

उनले थपे, “डाटा सेन्टर नेप्सेमै राखिने भएको छ । यूएटीको प्रारम्भिक र अन्तिम दुवै प्रतिवेदन तयार भएको छ ।”
यसअघि नेप्सेले ब्रोकरहरुलाई आफैं पूर्वाधार निर्माण निर्माण गर्न निर्देशन दिँदा मक ट्रेडिङ पछाडी धकेलिएको थियो ।

साउन १ गतेदेखि सेयर कारोबार अनलाइन हुने भनिएपनि सोदिन नेप्सेले केही ब्रोकरमार्फत् परीक्षणको रुपमा समानान्तर ट्रेडिङमार्फत् युएटी सुरु गरेको थियो । जसअनुसार लगानीकर्ताले युजरनेम र पासवर्ड प्रयोग गरी सिस्टममा पुहँच पाउँथे तर कारोबार भने गर्न दिइएको थिएन ।

साउदका अनुसार सबै ब्रोकर कम्पनीहरुले आवश्यक पूर्वाधार तयार पारिसकेका छन् ।
नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नोट्स)मा कम्पनी सूचीकरण, दलाल दर्तालगायत २० वटा मोड्युल रहेका छन् । नयाँ प्रणालीले भविष्यमा बढ्न जाने भारलाई सजिलै व्यवस्थापन गरी कारोबार सञ्चालन गर्न सक्छ । साथै क्लियरिङ बैंक, सीडीएस आदि तेस्रो पक्षलाई प्रणालीसँग एप्लिकेसन प्रोग्रामिङ इन्टरफेसको माध्यमबाट आवद्धगर्न सक्ने व्यवस्था पनि यसमा छ ।
नेप्से अनलाइनमा समावेश अर्को प्रणाली हो ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’(टीएमएस) । यसले ब्रोकर र लगानीकर्ताले इन्टरनेटको माध्यमबाट धितोपत्रको खरिदबिक्री प्रविष्ट गराउँछ । टीएमएसको माध्यमबाट ब्रोकरहरुले लगानीकर्ताको खाता खोल्न, कारोबार जोखिम व्यवस्थापन गर्न, कर्मचारीको व्यवस्थापन गर्न तथा पोर्टफोलियो व्यवस्थापन गर्न सक्छन् , लगानीकर्ताले भने आदेश दिन, कारोबार समयको चार्ट हेर्न, रकम ट्रान्सफर गर्न सक्छन् ।

नेप्सेमा अनुसार नोट्समा नेप्सेको म्याचिङ इन्जिनलगायत अन्य आन्तरिक व्यवस्थापन प्रणालीहरु नेप्सेको डाटा सेन्टरमा होस्टिङ गरी सञ्चालन गरिन्छ भने टीएमएसमा ब्रोकरहरुको डाटा सेन्टरमा होस्टिङ भइ ब्रोकर र लगानीकर्ताको कारोबार व्यवस्थापन हुन्छ । यसको अर्थ, नोट्स नेप्से डाटा सेन्टरमा रहेको छ भने टीएमएस हरेक ब्रोकरको डाटा सेन्टरमा रहेको छ । नोट्स र टीएमएसबीच भीपीएनबाट कनेक्सन गरिएको छ ।

नेप्सेका अनुसार टीएमएसबाट प्रविष्ट गरेको प्रणालीका सम्पूर्ण आदेश नोट्समा पुगेर मात्र म्याचिङ हुन्छन् ।

यस्तो हुन्छ अनलाइन ट्रेडिङ
केही समयपछि पूर्ण अनलाइन ट्रेडिङ प्रणाली कार्यान्वयनमा ल्याउने तयारीमा रहेको नेप्सेले लगानीकर्तालाई घरमै बसेर इन्टरनेटको माध्यमबाट कम्प्युटर, ल्यापटप र मोबाइलबाट सेयर खरिद तथा बिक्रीको अर्डर सक्ने व्यवस्था मिलाउन लागेको हो । यसले पुँजी बजारलाई थप चलायमान र सरल बनाउने अपेक्षा गरिएको छ ।

सेयर बजारमा अनलाईन प्रणालीमार्फत किनबेच गर्न चाहने लगानीकर्ताले सबैभन्दा पहिले सेयर दलालको कार्यालयमा आफ्नो नाम दर्ता गराउनुपर्ने केवाईसी फारम भर्नुपर्ने हुन्छ । कारोबार गर्ने व्यक्ति र ब्रोकर कम्पनीबीच एउटा सम्झौता त्यहिबेला गरिन्छ । फर्ममा अनलाइन खाता रोज्नेले मात्र अनलाइन कारोबार गर्न सक्छन् । अफलाइन खाता हुनेले ब्रोकर कार्यालयमै उपस्थित हुनुपर्ने हुन्छ ।

दुईपक्षबीचको सम्झौतामा सेवाग्राहीको डिम्याट खाता, बैंक खाता, कारोबार रकम अधिकार, पेश्कि आदि विषयमा भएको सम्झौता अनुसार ब्रोकरले कारोबार गर्दछ । अहिले पनि यही हिसाबले करोबार हुने गरेको छ । ब्रोकरले लगानीकर्तालाई उसको बैंक खातामा रहेको रकम र मार्जिन कर्जालगायतका कुराहरुको आधारमा कारोबार सीमा तोकी सम्बन्धित लगानीकर्तालाई कारोबारको अधिकार दिन्छ । यसमा लगानीकर्ताले ब्रोकरले दिएको यूआरएल तथा कारोबार सीमा प्रयोग गर्नुपर्ने हुन्छ ।

अहिले कारोबार गर्न चाहनेले लेखेर अर्डर दिनुपर्छ भने अनलाइन प्रणालीमा मोबाइल वा कम्प्युटरबाटै अर्डर दिन सकिन्छ । ब्रोकर कार्यालयमा उपलब्ध फारम भरेर किन्ने वा बेच्ने लिखित अर्डर दिने र आदेश संकलन गरेर ब्रोरले सिस्टममा इन्ट्रि गर्ने प्रणाली भने अन्त्य हुनेछ ।

यसर्थमा, सेवाग्राहीले दिएको अर्डर सिधै सिस्टममा पुग्छ । यद्यपि, ब्रोकरले भने कारोबार मोनिटर गरिरहेको हुन्छ । अनलाइन प्रणाली भएपनि सेवाग्राहीले ब्रोकर बिनै कारोबार गर्न अवसर भने पाउनेछैनन् । नयाँ प्रणालीमा पनि अहिले झैं फरक फरक ब्रोकरको कार्यालयमा खाता खोली चाहे अनुसारको कारोबार गर्न सकिनेछ । अलग ब्रोकरबाट कारोबार गर्दा अलग एकाउन्टमा लगइन भने गर्नुपर्नेछ ।

तर, सर्वसाधारणमा अनलाइन प्रणाली आउनेवित्तिकै ब्रोकरको सेवा लिनुपर्दैन भन्ने बुझाई गलत रहेको बताइएको छ । ब्रोकरको काम भनेको निगरानी गर्ने सम्झौताअनुसार मात्र सेयर बजारमा कारोबार गर्न पाइन्छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *