अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको यस्तो छ दररेट !
Published: (Updated: )
by .काठमाडौं । अभिनेत्रीहरूको भिँडमा लामो रेसको घोडा हुनसक्ने चर्चामा छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । छनौट गरेर अभिनय लिने उनी आमा नेहा राज्यलक्ष्मी शाहको उपस्थितिमा मात्र फिल्ममा साइन गर्छिन् । उनले पछिल्लो पटक निर्मात्री पुनम गौतमले बनाउन लागेको फिल्ममा साम्रज्ञीले सम्झौता गरेकी छन् ।
अभिनेत्रीले फिल्ममा सम्झौता गर्नु नयाँ कुरा नभए पनि उनलाई दिने पारिश्रमिक र त्यसले स्थापित गर्ने दररेटका विषयमा भने आश्चर्यजनक चर्चा बजारमा आएको छ । निर्मात्री गौतमले नाम तय भइनसकेको फिल्मका लागि साम्राज्ञीलाई १५ लाख रूपैंया पारिश्रमिक उपलव्ध गराउने सम्झौता गरेको बताइन्छ । यसले साम्राज्ञीको पारिश्रमिकको दायरा अझ बलियोमात्र होइन, अभिनेताहरू भन्दा पनि कयन धेरै तय गरेको ठहर्छ ।
हलिउड, बलिउडमा पनि अभिनेताभन्दा तेब्बरसम्म पारिश्रमिक लिने अभिनेत्री अहिलेसम्म तयार भएका छैनन् । यसले पारिश्रमिकको सत्ताबाट अभिनेतालाई उछिन्ने हिम्मत साम्राज्ञीले गरेकी हुन् त ?
अभिनेता, निर्देशकहरूले आफुले लिने पारिश्रमिकका विषयमा सम्झौता भन्दा कयन गुणा बढाएर बजारीकरण गर्ने चलन नयाँ होइन । अभिनेता प्रदिप खड्काले २० लाख रूपैंयाभन्दा बढी लिने चर्चा चल्यो । यसलाई पनि कतिपयले हावादारी नै भनेका छन् । तर साम्राज्ञीको हकमा त्यसै भएको हो त ?
कसरी बढ्दै गयो पारिश्रमिक ?
नेपाली फिल्मका अभिनेता अनमोल केसीको पारिश्रमिक दररेट ५० लाखसम्म पुगेको गसिप चलाइयो । असलमा उनको दररेटका सन्दर्भमा निर्माता भुवन केसी भएका फिल्मसँग जोडिएका हुन्छन् । तर फिल्मका विषयमा निक्कै नै गम्भिर चुजी भएका कारण केसीका विषयमा आउने हल्ला असामान्य हुनु स्वभाविक हो । एक पछि अर्को फिल्ममा उनको उपस्थिति बलियो भएर मात्र होइन, फ्यान फलोअर पनि अत्यधिक भएका कारणले केसी पारिश्रमिकका विषयमा चर्चित छन् ।
अनमोलसँगै साम्राज्ञीको फिल्ममा डेब्यु भएको थियो । त्यसपछि साम्राज्ञी अलिकति चुजी पनि बनिन् । उनी फिल्मका लागि मात्र होइन, निजी जीवन र गसिपका लागि पनि चुजी बनिन् । जति उनको फिल्ममा लिने पारिश्रमिकको दररेटका विषयमा चर्चा आउँछन् त्यति नै तस्बिर, प्रेम सम्बन्धका विषयमा पनि विरोधाभाषले मिडिया तात्छ ।
साम्राज्ञीले फिल्मलाई अलिक मिहिन ढंगले लिएका कारणले उनको पारिश्रमिकलगायतका विषयमा चर्चा हुनु अस्वभाविक होइन । उनले ‘चिप’ भएर फिल्म साइन गर्ने, म्युजिक भिडियो खेल्ने काम गरिनन् । अन्तरालका हिसाबमा फिल्ममा अभिनय गर्ने निर्णय पनि लिइन् । यसर्थ पनि साम्राज्ञीले महँगो पारिश्रमिक लिनसक्ने अनुमान स्वभाविक हो ।
केही निर्माताहरू भन्छन्,‘उनले सीमित फिल्मभन्दा अन्य प्राजेक्टमा काम गरेको अहिलेसम्म पाइएको छैन । यसकारण बर्षमा एक वा दुई फिल्म खेल्ने र त्यसमा चर्चा दिनसक्ने भएकाले यत्तिको पारिश्रमिक माग गर्ने र निर्माताले पनि दिनसक्ने उद्योग बनिसकेको छ । तर सबैको हकमा लागु हुँदैन ।’
साम्राज्ञीले ड्रिम्सपछि ‘ए मेरो हजुर २’ साइन गरेपछि उनको पारिश्रमिकका विषयमा चर्चा सुरु भएको थियो । उनको डेब्यु फिल्ममा कति पाइन् त्यसबारे नखुले पनि सुनिल थापा र झरना थापाको फिल्ममा भने ५ लाख दिइएको चर्चा चल्यो । त्यसपछि उनले ‘तिमी सँग’ भन्ने फिल्ममा अभिनय गरिन् । तर उक्त फिल्मले खासै व्यापार दिन सकेन । उनले त्यसमा ७ लाख पारिश्रमिक लिइएको चर्चा चल्यो ।
पछिल्लो पटक आर्यन सिग्देलसँग ‘कायरा’मा १० लाख र इन्टु मिन्टु लन्डनमा राम्रो पारिश्रमिक लिइएको चर्चा चल्यो । पछिल्लो फिल्म इन्टु मिन्टु लन्डनको छायांकनका क्रममा उनको प्रेम सम्बन्ध टुटेको सन्दर्भमा पनि गसिपकी पात्र बनेकी थिइन्, उनी ।
Comments