Sajhamanch Archive

जनप्रिय साकोसको साधारणसभामा कर्मचारीदेखि बचतकर्तासम्म सम्मानित

Published: (Updated: ) in सहकारी, by .

धुलावारी । मेचीनगर—१० धुलावारीमा रहेको जनप्रिय बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्ष २०७५÷ ०७६ मा ६ करोड ८३ लाख रुपैयाँको कारोवार गर्ने अनुमान गरेको छ ।

संस्थाको शुक्रबार सम्पन्न नवौ वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक वर्ष २०७५÷०७६ को अनुमानित वासलतमा उक्त कुरा उल्लेख छ । जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालले उद्घाटन गरेका थिए । साधारणसभामा संस्थाका अध्यक्ष चुडामणि बरालले सञ्चालक समितिकातर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गत आर्थिकवर्ष २०७४÷०७५ मा संस्थाले ५ करोड ६ लाख १४ हजार ६ सय ३३ रुपैयाँको आर्थिक कारोवार गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । शेयर पुँजी, जगेडा कोष, निक्षेप बचत, भुक्तानी दिनुपर्ने तथा अन्य दायित्व शीर्षकमा कारोवार भएको हो । संस्था दर्ता भएका बखत कार्यक्षेत्र मेचीनगरमात्र कायम भएपनि अहिले यसको कार्यक्षेत्र झापा जिल्लाभरि रहेको र शाखा सञ्चालनको स्वीकृत पाउपछि २०७५ असारमहिनाबाट बुद्धशान्ति— ५ स्थित गडीगाउँमा शाखा सञ्चालन हुने प्रतिवेदनमा उल्लेख छ ।
दुरगामी सोच र विगतका अनुभवबाट पाठ सिक्दै संस्थाले आफ्ना मुल्य मान्यता, सहकारी ऐन, विनियम, र नीतिको परिधिभित्र रही आफ्नो कार्य क्षेत्रका वासिन्दालाई सहकारी संस्थामा आवद्ध गराई सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउने र सहकारी संस्थाको उचित व्यवस्थापन साथै प्रबद्र्धन गदै दिगो संस्थाको रुपमा स्थपना गर्ने दृष्टि रहेको अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष वरालले आर्थिक वर्ष २०७५÷ ०७६ का लागि नीति तथा कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । शेयर, निक्षेप, कर्जा लगानी बृद्धि, शेयर लाभांस वितरण, जगेडा कोष, सदस्य शिक्षा कार्यक्रम, अध्ययन अवलोकन , कर्जा सुरक्षणलगायतलाई चालु वर्षमा समेत निरन्तरता दिने बताइएको छ । साधारणसभाका अवसरमा संस्थाले वर्ष उत्कृष्ट कर्मचारीका रुपमा सह व्यवस्थापक सविना लामा रानामगरलाई नगद दुईहजार रुपैयाँसहित पुरस्कृत तथा सम्मान गरेको छ । उत्कृष्ट ऋणीतर्फ खोई महमद मियाँ र जीतबहादुर लिम्बु, उत्कृष्ट बचतकर्तातर्फ नरबहादुर दर्जी र शंकर भगवान, ज्येष्ठ सदस्यतर्फ जलिन अहमदलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई जनही एकहजार रुपैयाँसहित सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका ढकाल विशिष्ट अतिथी मेचीनगर—१० का वडाध्यक्ष सुदय पनेरुसहित अन्य अतिथिहरुले प्रदान गरेका थिए ।

संस्थाका सचिव सुभाष गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिसहित विशिष्ट अतिथि मेचीनगर—१० का वडाध्यक्ष सुदय पनेरु, पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चेतन विष्ट, महालक्ष्मी कृषि सहकारी संस्थाका सदस्य मञ्जु खनाललगायतले बोलेका थिए । उनीहरुले सहकारी सञ्चालकहरुले संस्था सञ्चालनमा होस पुर्याउनुपर्नेमा जोड दिएका थिए । सहकारी सञ्चालन गर्दा यसका ऐन कानुन र परिधि भित्र रहनुपर्ने र सहकारीका मुल्य मान्यता र सिदान्तलाई लाई केन्द्रमा राखेर संस्था सञ्चालन गर्नुपर्नेमा सहभागीको जोड थियो । कार्यक्रममा सहभागी सवैलाई संस्थाका व्यवस्थापक सुन्दरबहादुर मगरले स्वागत गरेका थिए ।

संस्थाको आगामी चारवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि भएको छलफलमा अध्यक्षमा सहमति हुन सक्दा निर्वाचन हुने भएको छ । बाकी सवै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । वर्तमान अध्यक्ष चुडामणि वराल र विष्णुकुमार लावतीले अध्यक्षमा दावी गरेपछि सहमति हुन सकेन । उपाध्यक्षमा पशुपति नेपाल, सचिवमा सुभाष गुरुङ, सहसचिवमा गमबहादुर मगर सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । सदस्यहरुमा बालकृष्ण फूयाँल, कात्तिकलाल राजवंशी, शोभा घिमिरे, अनिता खत्री, देवी थापा तारा थापा र गम्भीरध्वज मगर सर्वसम्मत चयन भएका छन् । निर्वाचन सम्पन्न गर्नका भुवन आचार्यको संयोजकत्वमा भुइदल राई र शम्भु पौडेल सदस्य रहेको तीन सदस्यी निर्वाचन समिति चयन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *