Sajhamanch Archive

गौरादहमा सम्झिइए शहीद सुवेदी र प्रधान

Published: in राजनीति, राष्ट्रिय समाचार, by .

गौरादह । तत्कालिन राज्य पक्षबाट गोली हानेर हत्या गरिएका अखिल क्रान्तिकारीका तत्कालिन झापा जिल्ला अध्यक्ष रमेश सुवेदी र उपाध्यक्ष विष्णु प्रधानको सम्झनामा आज गौरादहमा रक्तदान कार्यक्रमसहित श्रद्धाञ्जली सभा गरिएको छ ।

२०६१ साल मंसीर ६ गते साँझ ७ बजे सरकार पक्षले गोली दागेर गौरादहमा उनीहरुको हत्या गरेको थियो । तत्कालीन माओवादी जनयुद्धमा क्रियाशील सुवेदी र प्रधानको सम्झनामा आज गौरादह बजारमा कार्यक्रम गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष अनिल सुवेदीले जानकारी दिए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङ, प्रदेशसभा सांसद झलकसिंह दर्लामी, नेकपाका नेता मदन अधिकारी, अनेरास्ववियूका जिल्ला अध्यक्ष दुर्गा धमला, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष अनिल सुवेदीलगायतले सुवेदी र प्रधानले खेलेका भूमिका तथा कार्यका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा शहीद सुवेदीका पिता गंगाराम सुवेदीले छोराहरुले देखेको सपना अझै पूरा हुन नसकेकोमा दुखेसो गरे । आफ्नो छोरो निर्दोष हुँदाहुँदै राज्य पक्षबाट आपराधिक कार्य गरिएकोमा आफूलाई जिउँदै मरेको भान भएको शहीद पिता सुवेदीले दुखेसो पोखे ।

यसैगरी, शहीद सुवेदीका भाइ पर्शुराम सुवेदीले दाजुले संगठन र पार्टीमा आवद्ध रहेर निर्वाहा गरेको भूमिका प्रति राज्य गम्भिर नभएको जिकिर गर्दै एउटा उदाउँदै गरेको तारा अस्ताएकाले परिवार तथा पार्टीमै ठूलो चोट पुगेको दावी गरे ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष तामाङले सुवेदी र प्रधानले गरेको त्याग र बलिदानले पार्टी यो अवस्थासम्म पुगेकाले सधैँ पार्टीले उनीहरु दुवैको सराहनीय कार्यको आत्मसाथ गर्दै उनीहरुले देखाएको बाटो र सपना अनुसार अघि बढ्ने दाबी गरे ।

शहीदको स्मृतिमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७० जनाले रगत दान गरेको अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष टिकाराम धमलाले बताए । तत्कालीन अखिलका नेताहरु सुवेदी र प्रधानको शव भेटिएको स्थान गौरादहमा आज साँझ ७ बजे द्विप प्रज्वलन गरिने पनि धमलाले जानकारी गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *