Sajhamanch Archive

काँकरभिट्टा खानेपानीको रजत जयन्ती, पानीको दुरुपयोग रोक्न सांसद कार्कीको आग्रह

Published: (Updated: ) in समाज, by .

काँकरभिट्टा । प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले पानीको महत्वलाई बुझेर यसको दुरुपयोग रोक्न सवैपक्षलाई आग्रह गरेका छन् ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको रजत जयन्ती वर्ष २०७५ तथा २३ औँ वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै सदस्य कार्कीले खाना खान नपाए मानिस अलिक दिन बाँच्न सकेपनि पानी नखाई एकछिन पनि बाँच्न नसक्ने भएकाले पानीको प्रयोगमा सवैले सावधानी अपनाउनुपर्ने बताए । अहिले ३ प्रतिशत मात्र पानी शुद्ध र स्वच्छ पिउन योग्य रहेको बताउँदै उनले ९७ प्रतिशत पानी स्लाइनबाट बन्ने गरेको नुनिलो रहेको प्रष्ट पारे । यसकारण पनि शुद्ध र स्वच्छ पिउन योग्य पानीको जतन गर्नु सवैको कर्तव्य भएको उनको भनाई थियो ।

नेपाल जलस्रोतका लागि धनी भएपनि शुद्ध र स्वच्छ पिउन योग्य पानी भने पर्याप्त नभएको उनको भनाई थियो । यसकारण पनि पानीको महत्वलाई बुझेर जगेडा गर्न उहाँको सुझाँव थियो । उहाँले यस संस्थाले पानी वितरणका लागि उपभोग गरेको विद्युत वापतको महशुल घटाउन सरकारसँग आग्रह गर्ने विश्वास समेत दिलाए ।

संस्थाका अध्यक्ष हर्कबहादुर लिम्बु फियाकले उद्घाटन सत्रको अध्यक्षता गर्दै सञ्चालक समितिकातर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । काँकरभिट्टा खानेपानी मेचीनगरको अब्बल संस्था मात्र नभई मुलकमै परिचित र अन्य खानेपानी हरुलाई पथ प्रदर्शक सस्था रहेको तथा यस संस्थाको गरिमालाई कायम राख्दै संस्थाले २४ सै घण्टा पानी वितरण गरिहेको परम्परालाई कायम राख्दै आएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

यो संस्था सञ्चालनको मेरुदण्ड उपभोक्ताहरुलाई नै सम्झेर उपभोक्ता र संस्थाको हित सर्वोपरी हुने बर्तमान सञ्चालक समितको उद्देश्य रहेको अध्यक्षको भनाई छ । ७ सय घरधुरीलाई लक्षित गरी निर्माण गरिएको यस आयोजनले आफुलाई सुधार विस्तार गर्दै ५ हजार ५ सय हाराहारी धारा जडान गरिसकेको र धारा जडान हुने कार्य निरन्तर भइरहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

मेचीनगर नगरपालिका, संस्था र सहलगानीका चर्चा गर्दै अध्यक्ष लिम्बुले मेचीनगर नगरपालिका बृहद भएको । यस नगर क्षेत्रमा तीनवटा ठूला खानेपानी प्रदायक संस्था रहेको, तीनवटा खानेपानीहरुले काँकरभिट्टा, धुलाबारी र चारआली क्षेत्रका बजार र बजार आसपसका क्षेत्रमा मात्र पानी वितरण गरिरहेका छन । साविक बाहुनडाँगी, ज्यामिरगढी, दुहागढी र धाइजनक्षेत्रमा सुरक्षित खानेपानी पु¥याउनु मेचीनगर नगरपालिकालाई चुनौति पूर्ण कार्यको रुपमा रहेको प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।

हाम्रो संस्थाको दोस्रो साना सहरी खानेपानी तथा सरसफइ आयोजना मार्फत सुधार विस्तार गर्दा साविक मेचीनगरका वडा नं. ७ देखि १३ सम्मका क्षेत्रमा मात्र पानी वितरणका लागि डिजाइन तयार गरिएको थियो । यद्यपि यस संस्थाको कार्यक्षेत्रसंग जोडिएको साविक बाहुनडाँगी गाविसका क्षेत्रहरुमा समेत पानी वितरण गरिएकोछ । हाल वितरण गरिरहेको क्षेत्रभन्दा अन्य क्षेत्रमा आफ्नो पँहुच विस्तार गर्न यस संस्थाको क्षमता पुन सुधार विस्तार गर्नुपर्ने हुन्छ ।

नेपालको संविधान २०७२ ले खानेपानीलाई जनताको मौलिक हकको रुपमा व्याख्या गरेकोछ । सुरक्षित खानेपानी प्राप्त गर्नु हरेक नागरिकको अधिकार हो र हरेक जनतामा सुरक्षित पानी पु¥याउनु राज्यको कर्तव्य र दायित्व हो । यही विषयलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकासंगको पटक पटकको आपसी छलफल पश्चात नेपाल सरकारको सहलगानी आयोजना मार्फत यस संस्थालाई थप सुधार विस्तार गर्ने र सम्भव भएसम्म यस आयोजनाको सुधार विस्तार गरी पानीे वितरण गर्ने समझदारी बमोजिम नेपाल सरकारको तर्फबाट ७० प्रतिशत र स्थानीय तर्फबाट ३० प्रतिशत लगानी हुने सह लगानीमा आवेदन गरिएको छ र यसको कार्यान्वयनका लागि संस्था र नगरपालिकाको तर्फबाट पहल भइरहेको बताइएको छ ।

खानेपानी वितरण र पानीकोगुणस्तर, प्रविधि मैत्री आयोजना , सस्थाको ऋण तथा दायित्व , नयाँ धारा जडानका लागि विशेष छुटको व्यवस्था , दिशाजन्य लेदो व्यवस्थापन, आफ्नो कार्यकाल, रजत जयन्ती बर्ष, सामाजिक सहभागिता, चुनौतिहरू, सेवा शुल्कलगायतका विषयलाई प्रतिवेदनमा उठान गरिएको छ ।

कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, पूर्व अध्यक्षहरुकातर्फबाट सुर्यप्रकाश उप्रेती, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, नेपाली काँग्रेसका झापाका कार्यवहाक सभापति राम कट्टेल, नेकपाका झापा जिल्ला सदस्य डिल्लीराम घिमिरे, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्यलगायतले संस्थाले खानेपानीको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अझै पनि खानेपानी नपुगेको ठाउँमा पानी वितरणका लागि काम गर्न सुझाँव दिएका थिए ।

रजत जयन्ती वर्ष २०७५ तथा २३ औँ वार्षिक साधारणसभाकै अवसरमा संस्थाको रजत स्तम्भ समेतको उद्घाटन गरिएको छ । यसैगरी संस्थापक अध्यक्ष पदमबहादुर निरौलाई मृत्युपरोणान्त सम्मान गरिएको छ भने पूर्व अध्यक्षहरु बुद्धिनाथ पौडेल, भवानी केरुङ, सुर्यप्रकाश उप्रेती र गोपाल तामाङलाई ताम्रपत्रसहित दोसल्लाले सम्मान गरिएको थियो । यसैगरी २५ वर्षसम्म अनवरत सेवा दिएको भन्दै कर्मचारीहरु केशवप्रसाद पोखरेल,कृष्ण विश्वकर्मा, लक्ष्मीनारायण माझी, जीवन काफ्ले, नरवहादुर खड्कालाई जनही नगद ५÷५ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

वर्ष उत्कृष्ट कर्मचारीका रुपमा माली कमलप्रसाद दाहाललाई नगद ५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नियमित पानी महशुल बुझाउने चक्रबहादुर तामाङ, लक्ष्मी अधिकारी काफ्ले र रेश्मा आङदेम्बेलाई समेत सम्मान गरिएको थियो । सचिव राजकुमार पराजुलीले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई उपाध्यक्ष शारदाकुमारी पराजुलीले स्वागत गरेकी थिईन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *