Sajhamanch Archive

एसिया प्यासिफिक समिट प्रहरीले झिकायो सबै प्रदेशबाट गाडी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौँ । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा राजधानीमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षाका लागि भन्दै प्रहरी प्रधान कार्यालयले प्रदेशस्थित प्रहरी कार्यालयहरूबाट धमाधम गाडी झिकाउन थालेको छ ।

प्रधान कार्यालयमा रहेका गाडी अपुग भएपछि जिल्लामा दैनिक सुरक्षामा प्रयोग भइरहेका गाडी झिकाउन लागिएको हो ।

दि एसिया प्यासिफिक समिट २०१८ मा आउने विशिष्ट र अति विशिष्ट पाहुनाको सुरक्षाका लागि गृहले प्रहरी प्रधान कार्यालयलाई जिम्मा दिएको छ ।

प्रधान कार्यालय स्रोतका अनुसार ६ प्रदेशबाट ३० वटा गाडी झिकाउने प्रक्रिया थालिएको छ ।

केही जिल्लाबाट गाडी आइसकेका छन् भने केहीबाट आउने क्रममा छन् । कान्तिपुरसँग सम्पर्कमा आएका विभिन्न जिल्लाका प्रहरी प्रमुखहरूले दैनन्दिनको शान्ति सुरक्षामा उपयोग भएका गाडी पठाएपछि जिल्लाको शान्ति सुरक्षा प्रभावित हुने बताए ।

प्रदेश २ अन्तर्गत एक जिल्लाका प्रहरी प्रमुखले भने, ‘घटना हुनेबित्तिकै प्रहरी कुद्नुपर्ने गाडी काठमाडौं पठाइएको छ । गाडीको अभावमा घटनास्थलमा समयमा पुग्न नसकिने अवस्था भयो भने के होला रु’

अधिकांश जिल्लाका प्रहरी प्रमुखले एउटा गैरसरकारी संस्थाको आयोजनामा हुने कार्यक्रमका निम्ति जिल्लाको शान्ति सुरक्षा नै प्रभावित हुने गरी गाडी झिकाउने निर्णयप्रति आफ्नो असन्तुष्टि सुनाए ।

प्रदेश १ का एक अनुसन्धान अधिकारीले भने, ‘कार्यक्रमभन्दा एक साता अगाडि नै गाडी मगाइएको छ । अब झन्डै १५ दिनजति प्रहरी कुद्ने गाडीको समस्या हुनेछ ।’

प्रदेश नम्बर १ बाट ५ वटा गाडी पठाइएको छ । सुदूरपश्चिमबाट ५ र प्रदेश २ बाट ५ वटा गाडी झिकाइएको छ । प्रदेश नम्बर २ प्रहरी कार्यालयले गाडीका अतिरिक्त जिल्लामा प्रयोगमा आएका पाँचवटा मोटरसाइकल पनि काठमाडौं पठाइसकेको छ ।

प्रदेश २ का एक प्रहरी अधिकारीले दैनन्दिनको पेट्रोलिङमा प्रयोग हुने गाडी र मोटरसाइकल केन्द्र पठाइएको बताए ।

ती अधिकारीले भने, ‘अब गाडी फिर्ता नआएसम्म भएका गाडीबाट काम चलाउने र पैदल नै गस्ती गर्ने अवस्था छ ।’

गृहको पत्रपछि प्रहरी प्रधान कार्यालयको कार्य विभागले सवारी विभागसँग मौजुदा गाडीको अवस्था र केन्द्रमा भएका गाडीको विवरण मगाएको थियो ।

केन्द्रमा भएका गाडीले सुरक्षा दिन नपुग्ने भएपछि कार्य विभागले प्रदेशका प्रहरी प्रमुखलाई आफू मातहतका प्रहरी कार्यालयका गाडी केन्द्रमा पठाउन सर्कुलर गरेको हो ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा काठमाडौंमा हुने अन्तर्राष्ट्रियस्तरका कार्यक्रमका पाहुनाको सुरक्षाका लागि जिल्लाबाट गाडी मगाउनुपर्ने लाजमर्दो अवस्था रहेको बताए ।

प्रहरी स्रोतका अनुसार पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मबाट गाडी काठमाडौं झिकाइएको छ । यसरी खाली आउने र खाली जाने गाडीका निम्ति मात्रै प्रहरीको हजारौं लिटर इन्धन र जनशक्ति खर्च हुन्छ ।

एक उच्च प्रहरी अधिकारीले भने, ‘यस्तो अभ्यास खर्चिलो त छ नै, यसले जिल्लाको नियमित पेट्रोलिङसमेत प्रभावित हुने गरेको छ ।’

कान्तिपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *