निःशुल्क स्वास्थ्य शिविरमा सात सयले लिए सेवा
Published:
by .बनियानी । झापाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी शुक्रबार बनियानीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरबाट सात सय बढीले सेवा लिएको आयोजक संस्था शहीद स्मृति प्रतिष्ठानका मेदनी शिवाकोटीले जानकारी दिए ।
नेकपा निकट सामाजिक संस्था शहीद स्मृति प्रतिष्ठान कचनकवल, शहीद लक्ष्मी पाण्डे स्मृति प्रतिष्ठान कचनकवल र द्रोणाचार्य प्रतिष्ठान तथा बनियानी स्वास्थ्य केन्द्रले स्वास्थ्य केन्द्र परिसरमा संयुक्तरुपमा आयोजना गरेको स्वास्थ्य शिविरमा पृथ्वीनगर, बनियानी, पथरिया, केचना, पाठामारी, घेराबारीलगायत सीमावर्ती भारतीय क्षेत्रबाट आएका विरामीहरुले सेवा लिएका थिए ।
प्रदेशसभा सांसद वसन्त बानियाँ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले ‘ब्लड प्रेसर’ जाँच गराएर स्वास्थ्य शिविरको उद्घाटन गरिएको थियो ।
झापाको विर्तामोडस्थित अत्याधुनिक प्रविधिसम्पन्न बी एण्ड सी हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा हाडजोर्नी तथा नसा, स्त्रीरोग, छाला तथा यौनरोग, बालरोग, मधुमेह, जनरल फिजिसियनसम्बन्धी सेवा प्रदान गरिएको थियो भने भिडियो एक्स–रे सेवा पनि उउपलब्ध गराइएको थियो । सो हस्पिटलका विशेषज्ञ चिकित्सकहरु डा. स्मृति जोशी, राजीव साह, राकेश मण्डल, जीतेन्द्र साह, कृष्णकान्त साह, रविनराज पौडेल, कन्हैया गुप्तालगायतले विरामीको स्वास्थ्य परीक्षण गरी औषधि सिफारिश गरेका थिए । निःशुल्क वितरण गरिएको औषधि पनि बी एण्ड सी हस्पिटलले नै उपलब्ध गराएको द्रोणाचार्य प्रतिष्ठानका सचिव लोकनाथ भट्टराईले बताए ।
बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि आयोजना गरिएको शिविरमा बिरामीको चाप बढेपछि अपरान्ह अबेरसम्म पनि स्वास्थ्य जाँच गरिएको शहीद लक्ष्मी पाण्डे स्मृति प्रतिष्ठानका अध्यक्ष तीलबहादुर राईले जानकारी दिए । शिविरमा नेपाल परिवार नियोजन संघले महिलाहरुको पाठेघरको मुखको क्यान्सरसम्बन्धी भीआईए परीक्षण गरेकोमा एकजना महिलालाई थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको संघका कार्यकारी प्रमुख तथा द्रोणाचार्य प्रतिष्ठानका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।
Comments