Sajhamanch Archive

सुरु भयो एशिया प्यासिफिक शिखर सम्मेलन, प्रधानमन्त्री ओलीसहित ७ सरकार प्रमुखले गरे सम्बोधन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । विश्वका ४५ मुलुकका १५०० प्रतिनिधि सहभागी एशिया प्यासिफिक समिट २०१८ राजधानीको ह्यात होटलमा सुरु भएको छ ।

सम्मेलन उद्घाटन समारोहमा मानवजातिले स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय रुपमा धेरै अप्ठ्यारो परिस्थितिको सामना गर्नु परिरहेको बताए । ‘अन्तरराष्ट्रिय व्यापार, भिन्न संस्कृतिहरु बीचको अन्तरक्रिया र प्रविधिको नवीनतम विकासले विश्व समुदायलाई अझ धेरै गहिरोसँग एकाकार गरेको छ,’ उनले भने ।

जलवायु परिवर्तनले नेपालसमेत आक्रान्त हुँदै गएको संस्मरण गर्दै उनले नेपालको जमीनको ६० प्रतिशत भूभाग बढ्दो तापक्रम न्यून गर्न उपयोग भैरहेको प्रधानमन्त्रीले बताए । हाम्रो हिमालय र बनहरुले वातावरणको दिगोपन कायम गर्न अतुलनीय योगदान गरेका छन्, उनले भने, गल्ती नगरेको समुदाय पर्यावरणीय समस्याबाट पीडित छ । त्यसैले हामी जलवायु न्यायसम्बन्धी सिद्धान्तको पूर्ण कार्यान्वयनको आवश्यकतामा जोड दिन चाहन्छौं ।’
गरिवी, अशिक्षा, र धेरै घातक रोगबाट विश्वभर लाखौं मानिसहरुको ज्यान जोखिममा पारिरहेको बताउँदै प्रधानमन्त्री केप ीओलीले एक्काइसौं शताब्दीका मानिसहरुबीच छलफलका माध्यमबाट समाधान गर्न सकिने विश्वव्यापी समस्याहरुको निराकरण गर्दै विश्वभरिका मानिसहरुको जीवनस्तर माथि उठाउन सफल भएको बताए । ‘अनगिन्ति चुनौती र दिनानुदिन बढ्दै गएका समस्याहरुले हामीलाई सताइरहेका छन,’ उनले,  ‘तिनले हाम्रो शिघ्र ध्यानको माग गरिरहेका छन । ’
सबै राष्ट्रहरुबीच बहुपक्षीय सम्बन्धलाई बलियो पार्दै शान्ति र अन्तरनिर्भरतालाई कायम राख्ने, प्राकृतिक पर्यावरण र बासस्थानको रक्षा गर्दै विकसित र विकाशशील राष्ट्रहरुले आपसी समृदीलाई अघि बढाउनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।  संस्कृतको भनाइ ‘वसुधैव कुटुम्बकम’ उधृत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संसार नै एउटा परिवार हो भन्ने यसको अर्थ हो । बुद्धको जन्मभूमि रहेको यो देशका हामी आफूभित्रै अरुलाई भेट्छौं । हामीलाई संसारकै सबैभन्दा पुरानो सभ्यताको हिस्सा भएकोमा गर्व छ ।’ कार्यक्रममा शिखर सम्मेलन आयोजक समितिका अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा विश्वभरका चुनिएका नेताहरुलाई स्वागत गर्न पाउँदा आफू गौरवान्वित भएको बताए ।
उद्घाटन सामारोहमा युनिभर्सल पिस फेडरेशन (युपिएफ) की संस्थापक हाक जा हान मुनले समाजिक मूल्य मान्यतालाई एशियाली महिलाहरुले जोगाउँदै आएको बताउँदै परिवार विखण्डन हुन नदिन हरेक ब्यक्तिको भूमिका महत्वपूर्ण हुने बताइन् । कार्यक्रममा भारतीय जनता पार्टीका नेता विजय जोलीले युपिएफ संस्थापिका मुनको चिनारी गराएका थिए । युपिएफ इन्टरनेशनलका अध्यक्ष थोमस जी वाल्सले वर्तमान समयका चुनौतीहरुलाई समाधान गर्ने तरिकाबारे यस्तै शिखर सम्मेलनहरु विश्वका विभिन्न मुलुकमा गर्दै आएको स्मरण गर्दै नेपालमा यसको पछिल्लो संस्करण गर्न पाउँदा आफू उत्साहित भएको बताए ।
कार्यक्रममा म्यानमारकी नेतृ आङ सान सुची, कम्बोडिया प्रधानमन्त्री हुन सेन, रिपब्लिक अफ नाउरुका राष्टपति बारोन वाका, फिलिपिन्सकी उपराष्टपति मारिया लियोनोर रोब्रेदो, सामोआका राज्य प्रमुख अफिओगा तुइमाले अलिफानो भालेटोआ, टुभालुका महाराज्यपाल सर लाकोबा टाइयाल टालेली, भारतीय पूर्वप्रधानमन्त्री एचडी देवेगौडा र पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीले सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए ।
शिखर सम्मेलनको सुरुआतमा नेपालको राष्टिय गीत बजाइएको थियो । गायिका इन्दिरा जोशीले नेपाली र अंग्रेजी गरी दुई गीत गाएकी थिइन् । कार्यक्रमको संचालन युपिएफ नेपालका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले गरेका थिए । शिखर सम्मेलन मङ्सिर १७ गतेसम्म सञ्चालन हुने छ । ‘बर्तमान समयका गंभिर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्बब्यापक मूल्य–मान्यता’ शीर्षक रहेको सम्मेलनमा एशिया प्यासिफिक क्षेत्रसहित विश्वका अन्य मुलुकका बर्तमान तथा पूर्वराष्ट्राध्यक्ष÷सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, संचारकर्मीहरू, प्राज्ञिक ब्यक्तित्वहरू, ब्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरू सहभागी भएका छन् । सम्मेलनले गरिवी, आतंकबाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिक पत्तन, जबर्जस्ती विस्थापन, प्राकृतिक विपत्ति, सस्त्रको होडबाजी जस्ता बढ्दो चुनौतीलाई सामना गरिरहेको विश्वसमुदायलाई ती समस्या समाधान गर्न सघाउने विश्वास आयोजक संस्थाले लिएको छ ।
सम्मेलनको उद्घाटनपछिका सत्रहरुमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर–धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन,संचारमाध्यमको भूमिकाबारे छलफल हुनेछ । जलवायु परिवर्तन र काठमाडौं घोषणाबारे बिशेष उद्घोषसहित एशिया प्यासिफिक शिखर सम्मेलन समापन हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *