Sajhamanch Archive

पदार्थको मूल्यबृद्धिविरुद्ध भएको प्रदर्शनमा वृद्धाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

पेरिस । फ्रान्समा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै भएको प्रदर्शनका क्रममा एक वृद्धाको मृत्यु भएको छ ।

मार्से शहरमा भएको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यासको क्यानले लागेर ८० वर्षीया वृद्धाको मृत्यु भएको हो । प्रदर्शन भइरहेको स्थान नजिकैको अपार्टमेन्टमा बसेकी ती महिलाले झ्याल बन्द गर्न खोज्दा उनको अनुहारमा अश्रुग्यासको क्यानले लागेको थियो ।

उनलाई उपचारका क्रममा अस्पतालमा भर्ना गरिएपछि निधन भएको अधिकारीहरुले जनाएका छन् । फ्रान्समा चर्किएको मूल्यवृद्धिविरुद्धको आन्दोलनका क्रममा यसअघि तीन जनाको मृत्यु भइसकेको छ ।

फ्रान्समा पछिल्लो प्रदर्शनमा १ लाख ३६ हजार मानिस सडकमा उत्रिएको बताइएको छ । पहेंलो भेस्ट लगाएर विरोधमा उत्रिएकाहरुले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।

फ्रान्समा डिजेलको मूल्य पछिल्ला १२ महिनामा २३ प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव भइरहँदा पनि फ्रान्समा भने लगातार मूल्य वृद्धि भइरहेको हो ।

राष्ट्रपति इमान्यूयल म्याक्रोनले हाइड्रोकार्बनमा कर बढाएपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो । राष्ट्रपति म्याक्रोनले भने प्रदर्शन अनुचित भएको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *