Sajhamanch Archive

श्रम स्वीकृतिको अनलाइन टोकन सेवा सुरु

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ ।

श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गरिएको कार्यालयले जनाएको छ ।

टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिनेछ ।

वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफइआइएमएस बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको छ ।

एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली अन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकैद्वारबाट पाउने वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले बताउनुभयो ।

तोकेको मिति र समयमा सेवाग्राही सेवाका लागि आएमा घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने उहाँको दावी छ । यस्तो सेवाका लागि सेवाग्राही आफंैले फाराम भर्न सक्नेछन् ।

सरकारले गएको असोज १५ देखि एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीबाट सेवा दिने तयारी गरेको भए पनि ताहाचलबाट भने अझैसम्म यस्तो सेवा सुरु हुन सकेको थिएन ।

यसैगरी, कार्यालयबाहिर रहेका बिमा कम्पनीमार्फत पनि सेवा लिन सकिनेछ । सेवाग्राहीले फाराम स्क्यानिङ गरेर आफ्नो युजर र आईडीबाट अनलाइन प्रणालीमा अपलोड गर्नुपर्नेछ ।

वैदेशिक रोजगार कार्यालयले एक दिनमा ९ सयदेखि ९५० जनासम्मलाई सजिलै यस सेवा दिन सक्ने जनाएको छ ।

सरकारको यस्तो नयाँ व्यवस्थाले अब सेवाग्राहीलाई सानो कामका लागि पनि दिनभर लामो लाइनमा बस्ने झन्झटबाट मुक्त गर्ने विश्वास गरिएको छ ।

यति मात्र नभई बिचौलिया र कर्मचारीको मिलेमतोमा हुने कामदार ठगीलगायत सबै समस्या स्वतः निवारण हुने कार्यालयले दावी गरेको छ ।

यस कार्यालयले बिहीबारदेखि आफ्नो भवन परिसरभित्र पिउने पानीको व्यवस्थासमेत गरेको छ ।

यसैगरी, सेवाग्राहीलाई काम सम्पन्न नहुन्जेल बस्ने बेन्च पनि थपेको जनाएको छ । यसैगरी, घामपानीबाट बच्नका लागि सेड निर्माणको अन्तिम तयारी भइरहेको पनि कार्यालय प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

पछिल्लो समयमा वैदेशिक रोजगार कार्यालय ताहाचलमा सेवाग्राहीको अत्यधिक भीड बढेको छ ।

घर विदामा आएका कामदार फर्किने भएकाले श्रम स्वीकृत लिनेको भिड बढेको बताउँदै खतिवडाले सेवाग्राहीले सास्ती पाएका कारण आइतबारदेखि पूर्णरूपमा अनलाइन प्रणालीबाट सेवा दिने बताउनुभयो ।

यस्तै सरकारले छिट्टै सातवटै प्रदेशबाट वैदेशिक रोजगारीसम्बन्धी सबै सेवा दिने तयारी पनि थालेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *