Sajhamanch Archive

नेपाल स्टक एक्सचेन्ज पूर्णस्वचालित अनलाइन प्रणाली आइतबारदेखि

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि पूर्णस्वचालित अनलाइन प्रणालीलाई सन्चालनमा ल्याउने भएको छ ।

गत कात्तिक २० गतेदेखि सो प्रणाली सन्चालनमा ल्याइएको भएपनि प्राविधिक कठिनाइ र प्रयोगमा देखिएको समस्याका कारण पूर्णकार्यान्वयनमा आउन सकेको थिएन ।

प्रणाली सन्चालन गर्न नसकिएको भन्दै गुनासो आएको थियो ।

बजारसमेत प्रभावित भएको भन्दै लगानीकर्ताले स्टक र धितोपत्र दलाल व्यवसायीसँग गुनासो गरेका थिए ।

सबै पक्षको गुनासो सम्बोधन हुनेगरी आवश्यक तयारी गरिएको स्टकले जनाएको छ ।

स्टकका प्रवक्ता मुरहरि पराजुलीले आइतबारदेखि पूर्णस्वचालित अनलाइन कारोबार प्रणाली सन्चालनमा ल्याउन स्टक, धितोपत्र दलाल व्यवसायी र लगानीकर्ता सहमत भएको बताए ।

पूर्णस्वचालित अनलाइन प्रणालीमा देखिएका समस्या समाधान भएको जानकारी दिँदै प्रवक्ता पराजुलीले धितोपत्र दलाल व्यवसायीले आवश्यक तयारी गरेको उल्लेख गरे ।

प्रणाली सन्चालन गर्न धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने सम्झौतापत्र तयार पारिएको छ । सबै लगानीकर्ताको हात–हातमा पुर्‍याउने लक्ष्य राखिएको छ ।

धितोपत्र कारोबार सन्चालन विनियमावली २०७५ का आधारमा सम्झौता गरी कारोबार हुनेछ । त्यसबाट सेयर खरिद–बिक्रीको प्रक्रियामा रहेको जोखिम तथा अन्य कठिनाइ व्यवस्थापन गर्न सहज हुनेछ ।

प्रवक्ता पराजुलीकाअनुसार सम्झौतापत्रमा दुवै पक्षले पालना गनुपर्ने ३९ बुँदे शर्त समावेश गरिएका छन् । सम्झौतापत्रमा ब्रोकरलाई प्रथम पक्ष र लगानीकर्तालाई दोस्रो पक्षकारुपमा लिइएको छ ।

तर, बैंक खाताबाट सेयर बिक्रीकर्ता वा खरिदकर्ताले भुक्तानी गर्ने रकमका सम्बन्धमा भने अझै तयारी पूरा भइसकेको छैन ।

त्यसका कारण कारोबार अनलाइन प्रणालीबाट भएपनि भुक्तानीका लागि भने अझै केही समय धितोपत्र दलाल व्यवसायीकहाँ नै जानुपर्नेछ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *