Sajhamanch Archive

फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कियो, १ हजार प्रदर्शनकारी नियन्त्रणमा

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच पेरिसमा झडपसमेत भएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र टियर ग्यास प्रहार गरेको छ । देशभर चर्किंदै गएको प्रदर्शनका क्रममा प्रहरीले करिब १ हजारलाई नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय पेरिसमा भएको प्रदर्शनका क्रममा तीन जना प्रहरी अधिकृतसहित कम्तिमा १ सय २६ जना घाइते भएका छन् । पहेंलो जर्सी लगाएर प्रदर्शनमा उत्रिएकाहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेका छन् । शनिबार देशभर भएको प्रदर्शनमा सवा १ लाखभन्दा बढी मानिस सहभागी भएको बताइएको छ ।

यसमध्ये १० हजारभन्दा बढीले राजधानी पेरिसमा जम्मा भएर प्रदर्शन गरेका थिए ।तर सरकारी अधिकारीहरुले प्रदर्शनमा अति हिंस्रक तत्वको प्रवेश भएको बताएका छन् । फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपेले प्रदर्शनमा घुसपेठ भएको बताएका हुन् ।

उनले विवाद समाधान गर्न सरकार तयार रहेको भन्दै प्रदर्शनकारीहरुलाई संवादबाटै समस्याको समाधान खोज्न आग्रह गरेका छन् । उनले देशका सबै नागरिक एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *