Sajhamanch Archive

निकास विनाको विकासः मेची पुल उद्घाटनको तयारी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

भद्रपुर । त्रिदेशीय व्यापारमा महत्वपूर्ण भूमिकामा रहेको भद्रपुर स्थित मेची पुल मंसिर २६ गते उद्घाटन हुने गरी तयारी तीव्र पारिएको छ । नेपालसित भारत र बंगलादेशको व्यापारिक सम्बन्ध सरल बनाउन सहज मार्गका रूपमा रहेको हुलाकी सडकको पहिलो पुल भद्रपुर नाकामा निर्माण सम्पन्न भएको ६ महिनापछि उद्घाटनको अवस्थामा पुगेको हो ।

पूर्व पश्चिम तराई लोक मार्गका रूपमा रहेको हुलाकी सडक अन्र्तगतको पहिलो पुल नेपाल–भारत सीमावर्ती भद्रपुर गलगलिया जोड्ने गरी मेची नदीमा निर्माण भएको हो । प्रवेशद्वार सडक अन्तर्गत मेची पुलदेखि पश्चिमपट्टिको १ सय ६० मिटरमा भित्र पर्ने २२ घरपरिवार र तीन सरकारी कार्यालय भत्काउने काम तीब्र गतिमा सम्पन्न गरेर सडक ग्राभेलको धमाधम भइरहेको छ ।

हुलाकी सडक परियोजना क्षेत्रीय कार्यालय इटहरीका प्रमुख विजय महतोका अनुसार पहिलो चरणमा १ सय ६० मिटर सडक ग्राभेल गर्ने काम अन्तिमचरणमा पुगेको छ । बाँकी १.२९० मिटर सडक बन्ने क्रममा रहेकोले पुल उद्घाटनपछि काम सम्पन्न हुने बताइएको छ । पुल निर्माण कम्पनीका इन्जिनियर सुरेन्द्र खतिवडाका अनुसार सडक खाली भएपछि दुई सातामा १ सय ६० मिटरमा ग्राभेल सडक निर्माण पूरा भएको हो । उनले भने, ‘पुल जोड्ने भारतर्फको सडकलाई पुनः बनाउनु पर्ने हुन्छ, त्यो काम पनि नेपाल भारत सरकारले निर्णय गरेपछि छिटै सुरु हुँदैछ ।

हुलाकी सडक कताबाट सुरु हुने स्पष्ट नभएकोले नेपालतर्फको १.२९० मिटर सडकको मुअब्जा विवाद टुंगो लाग्न नसकेको जनाउँदै भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की जानकारी दिए । उनले मुअब्बा विवाद टुंगो लगाउन सरकारपछि हट्नु नहुने बताए । विवाद अन्त्य नगरीे पुलको उद्घाटन गर्न लागिएको छ । वडाध्यक्ष कार्की भने झापा चौकबाट हुलाकी सडक सुरु हुने हो कि मेची पुलबाटै हुने हो जनताले जवाफ खोजिरहे पनि सरकार मौन बसेकाले स्थानीयले मुअब्बाको पीडामा परेका छन् ।

मेची पुललाई चाँडो सञ्चालनमा ल्याउन दवाव दिन स्थानीयको नेतृत्व गरिरहेका नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल केन्द्रीय सरकार र हुलाकी मार्ग आयोजनालाई पुल जोड्ने नेपाल तथा भारततिरको सडक जोडेर सञ्चालनको वातावरण निर्माणका लागि दवाव दिन थालेको पनि महिनौं बितिसकेको बताउँदै घरवार सडकमा परेर सुकुम्बासी बन्न लागेका प्रस्तावित सडकका बासिन्दाको चित्कार सुन्ने आँट सरकारले नगरेको प्रष्ट्याउँछन् ।

दक्षिण झापाको समृद्धिका लागि मेची पुल सञ्चालन अपरिहार्य भएको तर्क गर्दै नेकपाका स्थानीय नेता शिवकुमार राजभण्डारी नेपाल तथा भारततर्फ सडक निर्माणको समस्याले मेची पुल उद्घाटन रोकिनु नहुने तर्क गर्छन् । उनका अनुसार भद्रपुर लगायत दक्षिणी झापा बासीको छ दशक लामो सपना पूरा हुन अवरोध भएको यस अवस्थाबाट मुक्ति दिलाउन प्रधानमन्त्रीलाई नैतिक दवाव उद्घाटनले दिने प्रष्ट्याउँछन् ।

मुअब्जाको विवादले मेची पुल निर्माण भएसँगै सडक निर्माण कार्यमा पटक पटक अवरोध भइरहेको छ । हुलाकी लोकमार्ग निर्देशानालय काठमाडौंले मेची पुलको सडकलाई हुलाकी राजमार्गसँग जोड्ने सडक निर्माणका लागि डेढ किलोमिटर सडक निर्माणको टेण्डर आह्वान गरी ठेक्का स्वीकृत गरिसकेको जनाएको छ । २०७५ असार २८ मा निर्देशानालयले एक हजार ५०० मिटर सडक निर्माणका लागि करिब साढे पाँच करोडमा याक्थुमहाङ निर्माण सेवा पाँचथरसँग सम्झौता गरिसकेको प्रष्ट पारेको छ । नयाँ बाटो निर्माणका लागि सरकारले सो सडक खण्डको १सय ६७ मिटर क्षेत्रमा रहेका घरपरिवारलाई मुअब्जा रकम गत आर्थिक वर्षमा वितरण गरेपछि बाँकी एक हजार २ सय ८० मिटरमा पर्ने पुरानो माछा हटियादेखि झापाचोकसम्मका स्थानीयले मुअब्जाको माग गरी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले जग्गाधनीलाई कुनै सूचना नदिई आफ्ना जमिन अतिक्रमण गरी सडक बिस्तार गर्ने निर्णय गरिएको दावी गर्दै सडक निर्माण गर्न नदिने गरी आन्दोलनमा उत्रिएका हुन् । मेची पुलमा जोड्ने नेपाल तथा भारततिरको भण्डै दुई किलो मिटर सडक भने निर्माण हुन सकेको छैन । यही सडकका कारण पुल उद्घाटन भएपनि सञ्चालन हुनै नसक्ने सडक विस्तारबाट पीडित हुन लागेका स्थानीयहरूको दाबी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *