Sajhamanch Archive

एचआईभी पीडितलाई पिडा माथि पिडा

Published: in विविधा by .

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाकी पार्वती नाम परिवर्तन० लाई एचआईभी संक्रमण भएको ७ वर्ष भयो ।

तीन सन्तानकी आमा पार्वती परिवार पाल्नकै लागि सदरमुकाम सिलगढीमा दैनिक ज्यालादारीमा जोखिमपूर्ण काम गर्दैछिन् । डोटीकै पूर्वी चौकी गाउँपालिकाकी मन्सरी ९नाम परिवर्तन० को अवस्था पनि उस्तै छ ।

उहाँका श्रीमानले भारतमा गएर कमाउनु हुन्थ्यो, घर परिवार राम्रै चलेको थियो । रोजगारीसँगै उहाँमा एचआईभीको संक्रमण भएछ । एचआईभी संक्रमणका कारण श्रीमानको त ज्यान नै गयो ।

मन्सरीलाई पनि एचआईभी सर्यो । श्रीमानको मृत्युपछि चार छोरा–छोरीको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा आयो । आफ्ना छोरा–छोरी कसरी पाल्ने भनेर मन्सरी दिनहुँ चिन्तामा परिरहनुहुन्छ । मन्सरी र पार्वती मात्रै होइनन्, डोटीमा यस्ता कतिपय एचआईभी संक्रमित एकल महिलाहरुलाई आफू र बालबच्चा कसरी हुर्काउने भनेर चिन्तित हुने गरेका छन् ।

डोटी मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशका एचआईभी संक्रमित महिलाहरुलाई भने साँझ बिहान हातमुख जोड्न धौँ–धौँ परेको हुन्छ । सुदूरपश्चिम प्रदेशका अधिकांश पुरुषहरु कामका लागि भारतका विभिन्न शहरहरुमा जाने गर्दछन् ।

भारतमा काम गरेर घर परिवार पाल्ने धेरै छन् । विभिन्न संघ–संस्थाहरुले गरेको अध्ययन अनुसार यस क्षेत्रका संक्रमितमध्ये अधिकांश भारतबाट काम गरेर फर्कनेहरु छन् । एचआईभी संक्रमित भई घरमा कमाउने श्रीमानको मृत्यु भएपछि एकल हुन पुगेका महिलाहरु एचआईभीको संक्रमणको समस्याका साथै घर परिवारको समेत जिम्मेवारी सम्हाल्नु परेपछि आर्थिक समस्याका कारण थप पीडामा पर्ने गरेको पूर्वी चौकीका स्थानीय तथा सञ्चारकर्मी चक्रबहादुर कठायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कमाउन गएका श्रीमानले भारतबाट एचआईभी बोकेर आउँछन् र श्रीमतीलाई सार्छन । बिचरा श्रीमतीलाई बाचुन्जेलको पीडा हुन्छ ।’ पुरुषहरु सकेसम्म एचआईभीको जाँच गराउन मान्दैनन् । अन्तिम अवस्थामा भएपछि एचआईभी जाँच गर्न आउने गरेका कारण धेरैको ज्यान जाने र परिवारमा समेत एचआईभी संक्रमणको खतरा हुने उपचारमा संलग्न स्वाथ्यकर्मीहरु बताउछन् ।

कामका लागि भारत गएका श्रीमानले आफूलाई पनि एचाईभीको संक्रमणमा सारेपछि एचआईभी संक्रमित भएको भन्दै महिलाहरुले परिवार र समाजको भेदभावको समेत सामना गर्नु परिरहेको छ । एचआईभी संक्रमित भई भारतबाट घर फर्केकाहरु समेत उपचारपछि पुनः काम गर्न भारत जाने क्रम समेत बढेको छ । केही एचआईभी संक्रमित एकल महिलाहरु विभिन्न संस्थाले आयोजना गरेको महिला लक्षित कार्यक्रमबाट तालिम लिएर आय आर्जनमा सक्रिय हुन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशमा ६ हजार ७ सय २४ जना एचआईभी संक्रमित रहेको सुदूरपश्चि प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार ३ हजार ७६ ले एआरटी सेवन गरिरहेका छन् । ‘आर्थिक वर्ष २०७४र०७५ सम्मको तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा ६ सय ७६ जनाले एचआईभीरएड्सका कारण ज्यान गुमाएका छन’, जनस्वास्थ्य अधिकृत मलासीले भन्नुभयो, ‘गएको आर्थिक वर्षमा मात्रै दुई सय ४७ जना नयाँ संक्रमित देखिएका छन् ।’

सुदूरपश्चि प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार एचआईभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा स्थापना भएका छन् । एआरटी सेवन गर्नेहरुले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेको जनाइएको छ ।

जिल्ला अस्पताल डोटीको एआरटी सेन्टरले दिएको जानकारी अनुसार डोटीमा एचआईभी संक्रमितहरुको संख्या ९ सय ५८ रहेको छ । महिलाहरुको संख्या ५ सय ४८ रहेको छ । समाजको अपहेलितका कारण यहाँका एचआईभी संक्रमित महिलाहरु खासै खुलेर भन्न नसक्ने तथा उपचार गराउन नआउने गरेका कारण जिल्लामा एचआईभी संक्रमण बढी रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *