Sajhamanch Archive

योगीको सम्मान, खानामा ३६ प्रकारको ब्यञ्जन

Published: in राष्ट्रिय समाचार by .

जनकपुरधाम ।  सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले आज यहाँ सम्मान गरेको छ । 

मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरेका थिए । मुख्यमन्त्री राउतले अभिनन्दन पत्रमा नेपाल भारतको धार्मिक, सांस्कृतिक विशिष्टता अनुकरणीय रहेको चर्चा गर्दै लोकतन्त्रको सुदृढीकरण अभियानमा सबैको सहयोग र प्रतिबद्धताका लागि आग्रह गरे ।

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता महन्त ठाकुर, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डल संयोजक राजेन्द्र महतो, सांसद कोमल ओली प्रदेश नं २ सरकारका मन्त्री, प्रदेशसभाका सभामुख सरोजकुमार यादव, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पूरी र प्रदेशसभा सदस्यको उपस्थिति थियो ।

यसैबीच भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रदेश नं २ को सरकारद्वारा आयोजित भण्डारा (दिवा भोज) मा सरिक भए । मधेश भवनमा आयोजित भण्डारामा ३६ प्रकारको ब्यञ्जन पस्किइएको थियो । ब्यजनमा दाल, भात, कजौरीपालक पुरी, रोटी, गाँजरको हलुवा, पेडा, तीन प्रकारको रसबरी, दही, राजभोग, गुलाब जामुन र तरकारी लगायतका विभिन्न परिकार पस्किइएको थियो ।

सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्रीको सम्मानमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । यसअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई पर्यटनमन्त्री अधिकारी, नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधि, मन्दिरका सहायक महन्त रामरोशन दासले जानकी मन्दिरमा स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *