Sajhamanch Archive

काँग्रेसका को हुन् गृहजिल्ला नजाने नेता ?

Published: in राजनीति by .

काठमाडौं । काँग्रेसका ८३ केन्द्रीय सदस्यमध्ये केही केन्द्रीय सदस्यहरु राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रमका लागि जिल्ला नजाने भएका छन् ।

पार्टीले बिहीबार जारी गरेको सूचीमा केन्द्रीय समितिका नौ जना नेताहरुको नाम नभएकाले उनीहरु यही कार्यक्रमका लागि गृहजिल्ला नजाने भएका हुन् ।

नेपाली काङ्ग्रेसले पुस १६ गते मेलमिलाप दिवसको अवसरमा देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत कार्यक्रम गर्ने तयारी गरेको छ ।

विसं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनलाई काँग्रेससले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

दिवसलाई प्रभावकारी बनाउन काँग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएपनि केही नेताहरु विभिन्न कारणले जिल्लागत कार्यक्रममा जान नसक्ने भएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश पंगेनीले जानकारी दिए । पदाधिकारीमध्ये एक उपसभापति, दुई महामन्त्री र प्रवक्ता नै जिल्ला नजाने सूचीमा छन् ।

मनोनित महाममन्त्री पूर्ण बहादुर खड्का आफ्नी आमाको निधनपछि वर्षभरी कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नहुने निर्णय अनुसार नजाने भएका हुन् ।

उपभापति विजयकुमार गच्छदार, निर्वाचित महामन्त्री डा शशांक कोइराला र प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि जिल्लामा खटाइएको छैन ।

त्यसैगरी केवि गुरुङ र नरहरी आचार्य आफै विरामी भएकाले जान सक्ने अवस्थामा छैनन् । नेता चिनकाजी श्रेष्ठ, प्रदीप गिरि र राधेशचन्द्र यादव पनि जिल्ला नजाने सूचीमा छन् ।

काँग्रेसको अहिलेको विधानमा ८५ केन्द्रीय सदस्य रहने व्यवस्था भएपनि विधान भन्दा बाहिरबाट विजयकुमार गच्छेदार थपिएको र खुमबहादुर खड्काको निधन भएकाले ८३ जना केन्द्रीयसदस्य मात्रै छन् । खड्काको ठाँउबाहेक अर्का एक जना मनोनयन गर्न बाँकी छ । त्यसैगरी दश जना आमन्त्रित केन्द्रीय सदस्य हुनुपर्नेमा एक जना पनि मनोनयन गरिएको छैन ।

अहिले जिल्ला खटाइएका केन्द्रीय सदस्यहरुको सूचीमा तीन जना आमन्त्रीत केन्द्रीय सदस्य पनि रहेका छन् ।

तराईका नेतालाई पहाडी तथा हिमाली क्षेत्रमा र हिमाली तथा पहाडी क्षेत्रका नेतालाई तराई क्षेत्रमा खटाइएको छ भने सांसदहरुलाई काठमाडौँदेखि टाढाका जिल्ला तोकिएको छ ।

पदाधिकारीहरुले तयार पारेको जिल्ला खटाउने सूचीमा महिलाहरुलाई पनि सुगम जिल्लाहरुमा खटाइएको छ ।

खटाइएका नेताहरु आजैदेखि तोकिएका जिल्लाहरुमा जान लागेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *