ब्याडमिन्टनको उपाधि कन्दङ्वा र सिलवालको जोडीलाई
Published: (Updated: )
by .मेचीनगर । एनएमसी झापा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको मेन्स डबलतर्फको उपाधि विर्तामोड ब्याडमिन्टन क्लबका विवेक कन्दङ्वा र नविन सिलवालको जोडीले जितेका छन् ।
मेची ब्याडमिन्टन क्लबको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापा मुख्यः प्रायोजक रहेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा राष्ट्रिय खेलाडी प्रनिससिहं ठकुरी र दीपक घिमिरेको जोडीलाई कन्दङ्वा र सिलवालको जोडीले २१—१८, १७—२१ र १५—२१ को वेष्ट अफ थ्रीमा पराजित गरेको थियो । जीत सँगै विजयी खेलाडीले नगद २० हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र हात पारे पनि उपविजेतामा सिमित ठकुरी र घिमिरेको जोडीले नगद १५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्रमा चित्त बुझाए ।
प्रतियोगिताको भेट्रानतर्फको खेलमा विर्तामोडका सञ्जय भक्तराज र केबी गुरुङको जोडीले उपाधि हात पार्यो । यो जोडीसँग चन्द्रगढीका श्रवण चौधरी र कुलदिप चौधरीको जोडी २१—१२, २१—१५ले पारजित भयो । पहिलो हुने भक्तराज र गुरुङ जोडीले नगद १५ हजार तथा उपविजेता चौधरी जोडीले नगद १० हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।
फाइनल प्रतियोगिताका विजेता तथा उपविजेता टिमसहित विभिन्न विधाका विजयी खेलाडीलाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापाका अध्यक्ष रामचन्द्र उप्रेती, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा, आयोजक क्लबका अध्यक्ष तथा वडानम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नगर सदस्य राजकुमार श्रेष्ठ, देवीप्रसाद सुवेदीलगायतले पुरस्कार प्रदान गरेका थिए ।
Comments