Sajhamanch Archive

रेबिजले दुई महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं – कुकुरले टोकेर रेबिज लागेका दुई महिलाको मृत्यु भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाए अनुसार दोलखाकी ३८ वर्षीया एक महिलाको बुधबार र वाराकी १९ वर्षीया फुलकुमारी चौधरीको मंगलबार मृत्यु भएको हो। उनीहरुलाई उपचारका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याएकै अवस्थामा मृत्यु भएको हो।

रेबिज लागेको कुकुरले टोकेपछि कुकुरको र्यालबाट मानिसमा ‘आरएन ए’ भाइरस सर्दा मानिसलाई पनि रेबिज रोग लाग्छ। कुकुरले टोक्नेबित्तिकै रेबिजविरुद्धको खोप नलगाएमा मानिसलाई रेबिज लाग्छ र मृत्यु हुन पुग्छ। मृत्यु हुने दुवैले कुकुरले टोक्नेबित्तिकै रेबिजविरुद्धको सुई नलगाएका कारण रेबिज लागेको चिकित्सकले जनाएका छन्।

अस्पतालका चिकित्सक डा। शेरबहादुर पुनका अनुसार वाराकी १९ वर्षीया चौधरीलाई गत वैशाखमा कुकुरले टोकेको थियो। कुकुरले टोकेपछि उनी एक स्वास्थ्यकर्मीको पुगिन्। उनले केही औषधि र टिटानासको सुई दिए। तर केही दिनपछि उनमा रेविजको लक्षण देखियो। पानीसँग डराउने, ढाड दुख्नेलगायतका समस्या उनमा देखिन थाल्यो। यी लक्षण देखिएपछि उनलाई स्थानीय स्वास्थ्य संस्थामा पुर्याइयो। स्थानीय स्वास्थ्य संस्थाले काठमाडौं रेफर गरेपछि उनलाई आइतबार टेकु अस्पताल पुर्याइयो। अस्पताल पुगेको दुई दिनमै उनको मृत्यु भयो।

स्थानीय तथा दुर्गम तहसम्म रेबिजविरुद्धको जनचेतना नपुगेको कारण वर्षेनी रेविजको कारण धेरैले ज्यान गुमाउनु परेको छ। कुकुरले टोकेमा सरकारी स्वास्थ्य संस्थामा निःशुल्क रुपमा खोप लगाउन सकिने हुँदा कुकुरले टोक्नेबित्तिकै स्वास्थ्य चौकी वा अस्पताल जान चिकित्सकको सुझाव छ।
यी दुवै पात्र भरपर्दो स्वास्थ्यकर्मीकोमा नपुग्दा रेविजको सिकार भई मृत्युवरण गर्नुपरेको डा। पुन बताउँछन्। ‘उनीहरु स्वास्थ्य चौकीमा पुगेको भए सही सूचना पाउँथे खोप लगाइहाल्थे,’ उनले भने। अस्पतालमा यी दुई बिरामीबाहेक रेबिज लागेपछि ढिलो गरी उपचारमा आउँदा मृत्यु हुनेको संख्या वार्षिक करिब १२ पुग्ने गरेको छ।
नागरिक दैनिक बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *