भद्रपुर टी ट्वान्टी क्रिकेटः वडा नम्बर ६ सेमीफाइलनमा प्रवेश
Published: (Updated: )
by .भद्रपुर । भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगितामा आयोजक वडा नम्बर ६ सेमीफाइनलमा प्रवेश गरेको छ ।
भद्रपुर माविको मैदानमा आयोजित मंगलबार भएको खेलमा वडा नम्बर २ लाई ६ विकेटले पराजित गर्दै वडा नम्बर ६ सेमीफाइनलको यात्रा तय गरेको हो । अब वडा नम्बर ६ सेमीफाइनलमा वडा नम्बर १ सँग भिड्नेछ ।
टस हारेर पहिला ब्याटिङ्गको निम्तो पाएका वडा नम्बर २ ले १७ ओभर ४ बलमा १०८ रन बनाउँदै अलआउट भए । मनोज गुरुङ्गले ३ चौका र एक छक्का प्रहार गर्दै २६ बलमा २७ रन बनाए । त्यस्तै निखिल पौडेलले ३ चौका प्रहार गर्दै १४ बलमा १८ रन र सुमन गुरुङ्गले एक चौका र एक छक्का प्रहार गर्दै १४ बलमा १३ रन बनाए । वडा ६ का बलरका अगाडि वडा २ का अन्य ब्याटस्मेन धेरै बेर मैदानमा टिक्न सकेन । बलर धिरज चौधरी र आर्यन यादवले ३÷३ विकेट लिए । चौधरीले ३ ओभर ४ बलमा २० रन खर्चिएका थिए, भने यादवले ४ ओभरमा १५ रन खर्चिए । बलर किशोर लामा, नविन अग्रवाल र सुनिल कामतीले १÷१ विकेट लिए ।
१०९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका वडा ६ ले १३ ओभर ५ बलमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टाए । बिस्फोटक पारी खेल्र्दै इश्वर हाडाले अर्धसतक पुरा गरेकाले वडा ६ ले लक्ष्य सजिलै भेट्टाए । यो प्रतियोगितामा उनको दोस्रो अर्धसतक हो । हाडाले १० चौका र दुई छक्का प्रहार गर्दै ३९ बलमा ६१ रन बनाए । त्यस्तै नविन अग्रवालले ३ चौका प्रहार गर्दै १९ बलमा २३ रन र अमित शर्माले एक चौका र एक छक्का प्रहार गर्दै १५ बलमा १२ रन बनाए । वडा २ को खराब बलिङ्ग र फिल्डिङ्गको फाइदा उठाउँदै वडा ६ ले सेमीफाइनलको यात्रा सहजै पुरा गरे ।
बलरतर्फ सुमिरण राईले ३ र किरण मिश्रले एक विकेट लिए । राईले ४ ओभरमा ३५ रन खर्चिएका थिए, भने मिश्रले ४ ओभरमा ३७ रन खर्चिए । खेलको म्यान अफ द म्याच वडा नम्बर ६ का इश्वर हाडा घोषित भए । उनलाई नगद र ट्रफिसहित ६ नम्बर वडा अध्यक्ष प्रेम बरुवालले पुरस्कृत गरेका थिए । बुधवार हुने अन्तिम प्रि–क्वाटर खेलमा वडा नम्बर ७ र ८ बीच सेमीफाइलनका लागि भिड्न्त आयोजक समितिले जनाएको छ ।
Comments