भारतीय सीमा नाकाहरु तस्कर मैत्री बन्दा, राजश्व संकलनमा कमी
Published: (Updated: )
by .भद्रपुर । झापा जिल्ला भित्रका भारतीय सीमा क्षेत्रका नाका चोरी तस्करीका लागि सहज बन्दै जाँदा सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार बढ्दै गएपछि भन्सार राजश्व प्रभावित हुन थालेको छ ।
भारतीय बजारबाट नेपाल भित्रने व्यापारिक सामग्रीहरू भन्सारको बैध बाटो भन्दा अबैध बाटोबाट भित्रन सहज बन्दै जाँदा झापाका विभिन्न नाकाहरू तस्कर मैत्री बन्दै गएपछि राजश्व संकलनमा कमी हुन थालेको हो । कार्तिक महिनायता भद्रपुर स्थित भन्सार कार्यालयले एक करोढ ५० लाखको लक्ष्य पूरा गर्न सकेको छैन ।
यही आर्थिक वर्षबाट मूल भन्सारको मान्यता पाएको भद्रपुर भन्सारले छोटी भन्सार हुँदा २ करोड ८० लाखसम्म प्रति महिना राजश्व असुल्ने गरेको थियो । अहिले यस भन्सारले एक करोड ४० लाख पनि कटाउन सकेको छैन । अवैध ओसारपसार बढ्दै गएपछि राजश्व प्रभावित हुन थालेको भन्सार कर्मचारीको अनुमान छ । भद्रपुर भन्सारको पछिल्लो विवरण अनुसार अशोज महिनामा २ करोड ६६ लाख ५६ हजार राजश्व संकलन भएको छ । यस्तै कार्तिकमा १ करोड ७६ लाख ९९ हजार राजश्व जम्मा गरेको छ । यसैगरी मंसीर महिनामा आएर यो क्रम १ करोड ४२ लाख ६६ हजारमा झरेको देखिन्छ भने पौषमा १ करोड २८ लाख ५ हजारमा खुम्चिएको विवरणले पुष्टि गर्छ । भन्सारका सूचना अधिकारी रेवतराज गिरीका अनुसार १७७ प्रतिसतसम्म राजश्व संकलन गरिरहेको भद्रपुर भन्सारमा पछिल्ला केही महिनायता आयातमा गिरावट हुने क्रम बढेपछि राजश्व संकलनमा कमिहुने क्रम बढेको हो ।
चोरी तस्करी नियन्त्रणका लागि परिचालित पुलिस प्रशासन तस्करको सेटिङमा अलमलिँदा छोटी भन्सार नाकाहरू राजश्व छल्ने प्रमुख केन्द्र बन्न थालेका छन् । मेची भन्सारको कार्य क्षेत्र भित्र पर्ने इलामको पशुपति नगर, झापाका नकलबन्दा, सतीघट्टा, गौरीगञ्ज लगायतबाट वारपार व्यापार फष्टाई रहेका छन् भने भद्रपुर भन्सार अन्र्तगतका केचना, घेरावारी, पिण्डालबारी, टागनडुब्बा लगायत नाका राजश्व छलीका लागि सहज बन्ने गरेका छन् । यही आर्थिक वर्षबाट स्तर उन्नति भएको भद्रपुर भन्सार पनि ठूला व्यापारिका लागि राजश्व घटाउन सहयोगी बन्ने गरेको स्थानीय व्यापारी बताउने गर्छन् । पूर्वाधार पूरा नगरी मूल भन्सार बनाइएको भद्रपुर भन्सारमा विभिन्न बाहना बनाएर कर्मचारीले ठूला व्यापारी मैत्री काम गर्ने गरेका छन् । पोके व्यापारीका लागि गेट बाहिर बसेका प्रहरी बाटो खोलने आधार भइरहेको स्थानीयको भनाइ छ । झापाका विभिन्न नाकाहरूबाट कपडा, सवारी साधनका पार्टपूर्जा, इलेक्ट्रोनिक्सका सामान, मेसिनरी पार्टपुर्जा, रसायनिक विषदी, सुर्ति जन्य पदार्थ बढी मात्रामा तस्करीका माध्यमबाट भित्रने गरेका छन् ।
व्यापारका सम्बन्धित व्यक्तिहरूका अनुसार प्रहरी प्रशासन कै मिलिभगतमा राजश्व छल्ने काम हुने गरेको छ । नयाँ हाकिमहरूमा नयाँपन हुँदासम्म चोरी तस्करीमा कडाइ जस्तो हुन्छ तर पुरानोपन प्रवेशपछि सहज वातावरण बन्ने व्यापारीहरूको स्पष्ट भनाइ छ । साधा पोशाकमा छोडिएका घुमुवा प्रहरी तस्करको सेटिङ मिलाउने काममा व्यस्त हुँदा भन्सार तिर्नेभन्दा छल्ने व्यापारीको संख्या बृद्धि भएको स्थानीय बताउँछन् । पछिल्ला दुइ महिनायता भद्रपुर भन्सारले पाएको लक्ष्य पूरा गर्न सकेको देखिँदैन । भन्सार कर्मचारी भन्सारमा सामान नआएर लक्ष्य पूरा नभएको दाबी गर्छन् तर स्थानीय व्यापारी प्रहरी र भन्सार कर्मचारी कै मिलिभगतमा भन्सार घटी काटिने प्रबृत्तिले राजश्व संकलन प्रभावित भइरहेको हो ।
विगत वर्षहरुमा मेची अञ्चल भन्दा कोशी र सगरमाथा क्षेत्रका भारतीय सीमा नाका तस्करका सहज नाका बन्ने गरेका थिए । पछिल्लो पटक प्रदेश सरकार विराटनगरमा बसेपछि कोशी नाकाबाट हुने तस्करी मेची सरेको वारपार व्यापारीको स्वीकारोक्ती छ । नेपाली बजारमा खपत हुने कपडाको झण्डै आधा हिस्सा मेची नाका हुँदै भारतीय बजारबाट नेपाल प्रवेश गर्ने अनुमान गरिए पनि भन्सार महशुलले त्यस्तो देखाउँदैन ।
Comments