Sajhamanch Archive

निर्मला हत्या प्रकरणः यातना दिनेमाथि कारबाही भएन

Published: in राष्ट्रिय समाचार, समाज by .

बलात्कारपछि हत्या गरिएकी निर्मला घटनाको अनुसन्धानका क्रममा प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमाथि सुनुवाइ नभएको पीडितले बताएका छन् ।

घटनाको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप विष्टका दाइ खडकले बुधबार पत्रकार सम्मेलन गरी जाहेरी दिएको एक महिनासम्मपनि कारबाही प्रक्रिया अघि नबढेको बताएका हुन् ।

दिलीपलाई यातना दिई अपराध कबुल गर्न लगाएको भन्दै पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा तत्कालीन एसपी दिल्लीराज विष्टसहित ४ जनाका नाममा यातना कसूरसम्बन्धी जाहेरी दर्ता भएको थियो । ‘जाहेरी दिएको एक महिनासम्म पनि कुनै सुनुवाइ भएन,’ पत्रकार सम्मेलनमा खडकले भने, ‘यातना दिनेलाई कारबाही र उचित क्षतिपूर्ति दिइनुपर्छ ।’

भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलीप विष्टलाई प्रहरीले भदौ ४ गते घटना भएको २६ औं दिन मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । ‘यातनाका कारण दिलीपको स्वास्थ्य ठीक छैन,’ खडकले भने, ‘उपचारका लागि अहिलेसम्म डेढरदुई लाख खर्च भइसक्यो ।’

दिलीपलाई २६ दिन प्रहरी हिरासतमा राखेर डीएनए नमिलेपछि छाडिएको थियो । मानसिक अस्वस्थ उनी प्रहरीको यातनापछि झनै अस्वस्थ बनेका छन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको खडकले बताए । केही दिनअघि मात्रै उनलाई घर ल्याइएको हो ।
कान्तिपुर दैनिक बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *