Sajhamanch Archive

डावोस सम्मेलनमा प्रधानमन्त्री ओलीले भनेः शासक नभइ सेवक बन्न चाहेको छु

Published: in राजनीति, राष्ट्रिय समाचार by .

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताएका छन् ।

स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको सत्रमा उनले आफूले नेपाली जनताका निम्ति प्रजातन्त्रका लागि आधा शताब्दी निरन्तर सषंर्ष गरेको र वर्षौंवर्ष कारागारमा कठिनतम समय बिताएको स्पष्ट गरे ।

नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले लोकतान्त्रिक वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालीमा राजनीतिक अधिकार तथा स्वतन्त्रता व्यापक रहेको पनि बताए ।

उनले नेपाल कानूनी राज्यको सुनिश्चितता, विधि र प्रक्रियामा दृढ अठोट छ भन्दै सरकारले केन्द्रीयकरण गर्ने कुनै भावना नराखेको स्पष्ट गरे ।

आर्थिक उन्नयन र दिगो विकासका खातिर बहानाबाजी गर्नेहरुका लागि अब माफी दिने कुनै व्यवस्था नभएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेपाली जनताको परिवर्तनको चाहना साकार तुल्याउनमा नै सरकारले आफ्नो ध्यान केन्द्रित गरेको भन्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को लक्ष्य साकार पार्न सुशासन कायम गर्दै आर्थिक विकासमा नै सरकारले अर्जुनदृष्टि दिएको प्रष्टयाए ।

‘प्रेस’जगतसँगको सम्बन्धबारे सोधिएको एक जिज्ञासाका जवाफमा उनले निरंकुशतन्त्रमा मात्र शासकको प्रशंसा गर्न प्रेसलाई नियन्त्रण गरिन्छ, लोकतन्त्रमा प्रेसले आलोचना गर्नु सामान्य हो भने ।

प्रधानमन्त्री ओलीले नेपाली जनता पनि जिम्मेवारपूर्ण प्रेसका पक्षमा रहेको भन्दै प्रेसले आफ्नो पनि आलोचना गरेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *