Sajhamanch Archive

सडक स्तरोन्नतीको काम गुणस्तरहीन भएको स्थानीयको आरोप

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

भद्रपुर । भद्रपुर नगरलाई आधुनिक शहरका रूपमा विकास गर्ने लक्ष्य लिएर सुरु भएको सडक स्तरोन्नतीको काम गुणस्तर विवादमा परेको छ । सघन शहरी विकास कार्यक्रम अन्र्तगत ६ वटा प्याकेजमा भइरहेका काम मध्ये पहिलोचरण र दोस्रो चरणका चालु योजनाका अधिकांश सडक विस्तारका काम गुणस्तरहीन पाइएपछि गुणस्तर विवाद बढेको हो ।

आर्थिक वर्ष २०७३÷०७४ बाट काम सुरु भएका सडक निर्माण कम्पनीका कुनै पनि काम नगरबासीको चित्त बुझाउन सक्ने छैनन् । स्तरोन्नती योजनाका निर्माण व्यवसायीहरूले पहिलो चरणदेखि दोस्रो चरणसम्मका प्याकेज अन्र्तगत नाली निर्माण कार्यमा निर्माण सम्झौता विपरित काम गर्दा निर्माण अवधिमै नालीका वाल चर्कन थालेका छन् भने कामको गुणस्तरमा स्थानीयले प्रश्न उठाइरहेका भए पनि नियामकले ठेकेदारमाथि नियन्त्रण कायम राख्न सकेको छैन ।

यस आयोजनामा श्रेष्ठ कन्ट्रक्सन काठमाण्डौले ३० किमी, गजुरमुखी कन्ट्रक्सन इलामले २३ कि.मी., खनाल कन्ट्रक्सन इलामले ६ कि.मी. र पुष्पाञ्जलि जभी अरनिको हेविटस जलथलले ५ किमी सडक नाला निर्माणको जिम्मा लिएर काम गरिरहेका छन् । पहिलो चरणमा निर्माण सम्पन्न भएका अधिकांश नालीका वाल चर्कने समस्या देखिएको छ । वर्तमानमा निर्माण हुँदै गरेका कतिपय वाल चर्कने अवस्थाले दीर्घकालिन योजनाका रूपमा यस आयोजनाका संरचनाले काम गर्न नसक्ने देखिएको छ ।

दोस्रो चरण अन्र्तगत काम भइरहेका भद्रपुर नगरका साविकका पृथ्वीनगर, महेशपुर र चन्द्रगढीमा भइरहेका सडक निर्माणका काममाथि गम्भीर प्रश्न उठेको छ । नाली निर्माणको जिम्मेवारी लिएका ठेकेदारले प्रयोग गरेको गिटी, बालुवा, ढुंगाको परिणामसित सिमेन्टको सन्तुलन नमिलाएको तथा निर्माणका चरणमा रहेका नालीको वालमा पानी नपटाउँदा चर्कन थालेको स्थानीयको भनाइ छ ।

भद्रपुर नगरमा सडक विस्तारका काम गरिरहेका ठेकेदार कम्पनीलाई प्रत्यक्ष सरोकार राख्ने स्थानीय नागरिकले कमसल निर्माण सामग्री प्रयोग गरेको, तोकिएको अनुपातमा पर्खाल नलगाएर साँघुरो शैलीमा काम गरिरहेको, ढलान गर्दा गिटी, बालुवा र सिमेन्टको परिणाम नमिलाएको, सडक नाली निर्माणमा पहुँचका आधारमा बङ्ग्याउने गरेको आरोप लागाएका छन् ।

पछिल्लो पटक भद्रपुर ९, ८ र ७ जोड्ने झापा कारागार दक्षिण जिल्ला प्रशासन, जिल्ला समन्वय समिति हुँदै विद्युत प्राधिकरण दक्षिण सगरमाथा चैक सम्मको १ हजार ७ सय मिटस सडक नालामा ढलानको काम गुणस्तरहीन भइरहेको पाइएको छ । गजुरमुखी तथा खनाल कन्ट्रक्सन इलामले सम्युक्त निर्माण गरिरहेको सो सडक स्तरीकरणको काम अन्र्तगत नाली निर्माणमा निर्माण कम्पनीले चरम लापर्भाही गरिरहेको पाइएको छ । निर्माण कम्पनीले बालुवाको मात्रा बढी राखेर गिटी र ढुंगाको परिणाम कम राखी काम गरिरहेको पाइएको छ । सोही निर्माण कम्पनीले पहिलो चरण अन्र्तग गत जेठसम्ममा चन्द्रगढीको घोडामारा क्षेत्रमा गरेको सडक नाला निर्मामाणमा कमसल निर्माण सामग्री प्रयोग गरेका कारण अधिमाम्स नाला चर्कने समस्या देखिएको छ । स्थानीय बासिन्दाले कमसल काम गर्ने निर्माण कम्पनीमाथि कार्वाहीको माग समेत गरेका छन् । बालुवाको मात्रा बढी प्रयोग गर्ने र गिटी तथा ढुंगाको अनुपात नमिलाई कम प्रयोग गरेर नाला निर्माणको काम कमजोर भएको स्थानीयको भनाई छ ।

यस विषयमा जिज्ञासा राख्दा सघन सहरी विकास आयोजना भद्रपुरका इन्जिनियर विनोद सिंह भने गुणस्तरीय नाला निर्माणका लागि १५ जना सव ओभरसियर स्तरका प्राविधिक सुपरभाइजर स्थलगत रूपमा खटाइएको छ । उनका अनुसार निर्माण कम्पनीको काममा गुणस्तरीयता नपाइए तत्काल भत्काएर पुनरनिर्माण समेत गराइने गरेको छ ।

यता गजुरमुखी तथा खनाल कन्ट्रक्सन इलामका प्रतिनिधिका रूपमा काम गरिरहेका गणेश ढकाल भने निर्माण सम्झौता अनुसार काम गर्दा सडक नालाको गुणस्तर अझ कमजोर पाइएकोले सघन सहरी विकासका प्राविधिकसित सहकार्य गरी सिमेन्टको मात्रा घटाएर बालुवाको मात्रा बढाएको तर्क गर्छन् । उनका अनुसार बढी सिमेन्ट प्रयोग गर्दा नालाका पर्खालमा हन्नीजाम हुने समस्याले फुट्ने, चर्कने अवस्था आएको हो । यस्तो अवस्था अन्त्यका लागि सिमेन्टको मात्रा घटाउनु परेको ढकालको दाबी छ । प्राविधिक पक्षले सम्झौता अनुसार काम भइरहेको बताइ रहँदा निर्माण ठेकेदार पक्ष गुणस्तर घटाएको स्वीकार गरिरहेको अवस्थाले सघन सहरी विकासको भद्रपुर क्षेत्रका सडक नाला निर्माणको काममा गुणस्तरीयतामाथि प्रश्न उठाउने ठाउँ पाइएको हो ।

बहुवर्षे आयोजना अन्र्तगत ६ वटा प्याकेजमा २५ वटा योजनाका कामहरू पक्की नाला निर्माण सहित सडक विस्तार भइ रहेको छ । दुई अर्व रुपैयामा ५ वर्ष भित्र भद्रपुर नगरपालिका भित्र रहेका साना तथा साँघुरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य लिएर सुरु भएको सघन शहरी विकास कार्यक्रम ठेक्का लाग्दादेखि नै कमिशनको भुमरीमा परेको छ । शहरी विकास तथा भवन निर्माण विभाग अन्र्तगत भइ रहेको यो कामको स्तरीयता कायम गर्न डिभिजन कार्यलय मार्फत सधन सहरी विकास आयोजना कार्यालयले विज्ञ टोली सहितको इन्जिनियरको प्राविधिक टोली स्थलगत रूपमा खटाइएको छ । तर प्राविधिकले राम्रो अनुगमन नगरेको भन्दै स्थानीयले आपत्ती समेत उठाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *