Sajhamanch Archive

उपसचिव तहका कर्मचारीको समायोजन सुरु हुँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

सरकारले आजदेखि उपसचिव तहका कर्मचारीको समायोजन सुरु गर्ने भएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा जाने उपसचिव तहका कर्मचारीको समायोजन आजबाट सुरु गर्न लागिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश’ अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई समायोजनको पत्र दिइने बताए ।

फाराम भर्दा प्रयोग गरेको ईमेल र राहदानीका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैंले नै समायोजनको पत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ ।

उपसचिवहरुले आफ्नो समायोजनको पत्र मन्त्रालयको वेबसाइटमा गएर आफैं प्रिन्ट गरेर बुझ्न सक्ने व्यवस्था गरिएको छ । सरकारले करिब २ हजार उपसचिव तीनै तहमा समायोजन गर्दैछ ।

यसअघि सरकारले पहिलो चरणमा सचिवलाई समायोजन गरिसकेको छ भने सहसचिवको समायोजन गर्न स्वीकृति माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पत्र पठाइएको छ । सरकारले तीनै तहमा समायोजनका गर्नका लागि गत पुस ११ गतेदेखि माघ २ गतेसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो ।

उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने मन्त्रालयले जनाएको छ ।

आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने तयारी सरकारको छ ।

सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *